इंग्ल्यान्डको पाकिस्तान ‘टुर’ अर्को वर्ष अक्टुबरसम्म स्थगित

काठमाडौं – इंग्ल्यान्ड क्रिकेट टोलीको पाकिस्तान ‘टुर’ अर्को वर्ष अक्टुबरसम्म स्थगित हुन सक्ने भएको छ । यसअघि इंग्ल्यान्ड टोली टी-ट्‌वान्टी सिरिजका लागि २०२१ को सुरुवातमा पाकिस्तान भ्रमणमा जाने तय भएको थियो ।

यस सिरिजका लागि शीर्ष खेलाडी टोलीमा उपलब्ध हुन नसक्ने भन्दै इंग्ल्यान्डले सिरिज स्थगित गर्न लागेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । त्यस्तै अर्को कारण सिरिजका लागि हुने भारी खर्चलाई उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार यसअघि यो सिरिज जनवरी र फेब्रुअरीमा हुने तय भएको थियो । तर, अब यो सिरिज भारतमा आयोजना हुने टी-ट्‌वान्टी विश्‍वकपभन्दा पहिला अक्टुबरमा पाकिस्तानमा हुने सक्नेछ ।

इंग्ल्यान्ड क्रिकेट बोर्डको स्रोतका अनुसार, “समस्या यो हो कि अर्को वर्ष इग्ल्यान्डले श्रीलंका र भारतविरुद्ध सिरिज खेल्नुपर्नेछ । यससँगै टोलीका केही शीर्ष खेलाडी अस्ट्रेलियन क्रिकेट लिग बीबीएलमा खेल्नेछन् । यस्तो अवस्थानमा उनीहरु यो टुरका लागि उपलब्ध हुने छैनन् । अर्को समस्या इंग्ल्यान्डको पाकिस्तान भ्रमणमा हुने खर्च हो । किनभने इंग्ल्यान्डले मात्र तीन खेलको टी-ट्‌वान्टी सिरिज खेल्नेछ । कराचीमा यी खेलको आयोजना हुन सक्नेछन् । यसका लागि हामीले चार्टर्ड फ्लाइटबाट जानुपर्ने हुन्छ र दुबईमा प्रशिक्षण गर्नुपर्ने हुन्छ । यसका लागि ठूलो खर्च हुनेछ । जसबाट इग्ल्यान्ड बोर्डलाई कुनै फाइदा छैन ।”

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमका अनुसार दुवै बोर्ड यस सिरिजलाई अक्टुबरसम्म स्थगितका लागि छलफलमा रहेको जनाइएको छ । इग्ल्यान्डले पछिल्लोपटक २००५ मा पाकिस्तान भ्रमण गरेको थियो ।