बाइडेनले भने- ट्रम्प नहटे ‘अरु मानिसको मृत्यु हुनेछ’

वासिङ्‍टन – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले नयाँ सरकार रोक्ने काम जारी राखे ‘मानिसको मृत्यु’ हुन सक्ने बताएका छन् ।

बाइडेनले डेलाभरमा भनेका छन्- कोरोना महामारी रोक्न सामञ्‍जस्यता आवश्यक छ । उनले एकपटक फेरि ट्रम्पले निर्वाचनमा हार स्वीकार नगर्नुलाई ‘लज्जास्पद’ भनेका छन् ।

नोभेम्बर ३ मा सम्पन्‍न निर्वाचनमा बाइडेनले इलेक्टोरल कलेजका ३०६ मत प्राप्त गरिसकेका छन् । जितका लागि २७० मत आवश्यक पर्छ । डोनाल्ड ट्रम्पले सोमबार बिहान एकपटक फेरि ट्‌विट गर्दै भनेका छन्, “चुनाव मैले जितेको छु ।” ट्‌विटरले उनको उक्त ट्‌विटमा एकपटक फेरि चेतावनी जारी गर्दै भनेको छ, “अन्य कैयौं स्रोतहरुले यो चुनावबारे केही अरु नै भनेका छन् ।”

यसैबीच अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिसेल ओबामाले सोसल मिडियामा ट्रम्पले अडान लिइरहेको प्रति टिप्पणी गर्दै लेखेकी छन्, “यो खेल भइरहेको छैन ।” –बीबीसी