नेपाललाई घरेलु टिम बंगलादेशले २-० गोलले पराजित

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। शुक्रबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपाललाई घरेलु टिम बंगलादेशले २-० गोलले पराजित गरेको हो।

नेपालले दुवै हाफमा १-१ गोल खाएको थियो।

खेलको दशौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो। वान भर्सेस वानको अवस्थामा महबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरेका थिए।

नेपालका लागि पहिलो हाफमा रवी पासवान र अन्जन विष्टले गोल गर्ने अवसर खेर फालेका थिए।

खेलमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यू गरेका छन्।

दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ।

यसअघि नेपाल बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा नेपाल तीन खेलमा विजयी भएको थियो। एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ।

नेपाली राष्ट्रिय टिम झण्डै एक वर्षपछि मैदान उत्रिएको हो। नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी साता एक वर्ष पूरा हुँदैछ।

फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।

त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन नसकेको हो।