दाहालसँग सँगै हिंड्न नसक्ने प्रधानमन्त्री ओलीको निचोड

फाइल तस्वीर।

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री  केपी ओलीले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सँगै हिंड्न नसक्ने बताएका छन् ।

आफूविरुद्ध दाहालले झूठा आरोप लगाए भन्दै उनले त्यस्ता बेतूकका आरोपको जवाफ नदिने पनि प्रष्ट पारे ।

आइतबार बालुवाटारमा पार्टी नेता माधव नेपाल र वामदेव गौतमसँग अलग अलग भेटवार्ता गर्दै उनले आफूविरुद्धको आरोप पत्र फिर्ता नलिँदासम्म थप संवादको अर्थ नहुने पनि बताएकाे स्रोतको दाबी छ ।

गौतमसँग एक्लै कुरा गरेका ओलीले नेता नेपालसँगको भेटमा महासचिव विष्णु पौडेललाई पनि साक्षी राखेका थिए ।

आफूमाथिका आरोपको खण्डन बैठकमै गर्न नेता नेपालले सुझाए पनि प्रधानमन्त्रीले अस्वीकार गरेको बताइएको छ । ओलीले दाहालविरुद्ध आफूलाई सघाउन दुबै नेता नेपाल र गौतमसँग आग्रह गरेका थिए।

नेता गौतमले भने अहिलेको परिस्थिति सृजना हुनुमा प्रमुख कारक दुबै अध्यक्ष भएकाले समाधान पनि दुबै मिलेर खोज्नुपर्ने बताएका थियो । उनले दाहाल र नेपाललाई गाली गरेर मात्र समाधान नहुने पनि प्रष्ट गर्नुभएको थियो । गौतमले ओलीविरुद्ध दाहालले पेश गरेको पत्र आफूपक्षीय पाँचै जनाको सल्लाहमा तयार भएको पनि प्रष्ट गर्दिनुभएको थियो ।

शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले पार्टीभित्रको समस्या समाधानका लागि ओलीले त्याग गर्नुपर्नेसहितको प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री ओली क्रूद्ध हुनुभएको हो ।

उहाँ पक्षीय नेताहरु दाहालको पत्रका कारण पार्टी एकता नै संकटमा परेको देखि संवाद नै हुन नसक्नेसम्म बताउन थालेका छन् ।

आफूविरुद्ध सचिवालयका बहुमत सदस्यहरु एकातिर अभिएपछि शनिबार मात्र प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभएको थियो । पार्टीमा नेताहरुसँग पनि उहाँ छलफलमा हुनुहुन्छ ।

अर्को बैठक मंसिर ३ गते बस्ने भएकाले त्यो दिनसम्म परिस्थिति आफ्ना पक्षमा पार्न नसके प्रधानमन्त्री ओलीले सचिवालय बैठक गर्ने मै पनि आशंका छ ।