करोड खर्चेको रंगशाला अलपत्र छाडेर अर्को ठाउँमा निर्माण थालियो

रुकुम – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटनजिकै निर्माणाधीन पानेढुंगा रंगशाला अलपत्र परेको छ। जिल्लामा आयोजना हुने ठूला खेलकुद कार्यक्रमलाई लक्षित गरी ७ वर्ष अघिबाट निर्माण कार्य थालिएको रंगशालाको काम पूरा नहुँदै अलपत्र परेको छ भने अर्को ठाउँमा फेरि नयाँ रंगशालाको काम थालिएको छ।

मुसिकोट नगरपालिका–२, मा निर्माणाधीन पानेढुङ्गा रंगशालाको काम अधुरै अवस्थामा छाडिएको छ। २०७१ सालबाट रंगशाला निर्माण गर्नेगरी ३२ रोपनी जग्गामा शुरु गरिएको रंगशालाको फिल्ड निर्माण बाहेक बाँकी सबै काम अलपत्र पारिएको छ। यसअघि विभिन्न आर्थिक वर्षमा खेलकुद मन्त्रालयबाट प्राप्त १ करोड २५ लाख रकम रंगशाला निर्माणमै खर्च गरिए पनि पानेढुंगा रंगशाला निर्माणको काम पूरा हुन सकेको छैन।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छवि केसीले भने हाल अलपत्र अवस्थामा रहेको रंगशाला निर्माणको काम जसरी भए पनि पूरा हुने बताए।

‘अर्को रंगशाला निर्माणको काम पनि भइरहेको छ, जिल्लामा दुई वटा रंगशाला निर्माण भएर केहि फरक पर्दैन’ केसीले भने, ‘खेलकुदको केही गतिविधि पानीढुंगा रंगशालामा हुन्छ केही गतिविधि धैरेनीचौरमा हुन्छ।’

जिल्ला खेलकुद विकास समितिले अलपत्र पानेढुङ्गा रंगशाला निर्माणको काम पूरा हुने बताए पनि यहाँको रंगशालाको काम भने अन्योलमा परेको छ। तर, मुसिकोट नगरपालिका–३, को धैरेनीचौरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत अर्को एक ठूलो रंगशाला निर्माणको काम भइरहेकोले पानेढुङ्गा रंगशाला थप अन्योलमा देखिएको हो।

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार धैरेनीचौरमा निर्माण कार्य थालिएको रंगशालाको काम चालू आर्थिक वर्षमै खेलकुद गतिविधि संचालन हुने गरी अगाडी बढेको छ। धैरेनीचौरमा बन्दै गरेको रंगशाला निर्माणका लागि २८ करोड लागत अनुमानको डिपिआर गरिएको छ।

हालसम्म रंगशाला निर्माणमा ५० लाख बढी खर्च भएको मुसिकोट नगरपालिकाले बताएको छ। तर जिल्लाको सदरमुकाममै निर्माणाधीन पानेढुंगा रंगशाला अलपत्र परिरहेको अवस्थामा मुसिकोटमै अर्को एक नयाँ रंगशालाको काम अघि बढ्नुले सरकारी बजेटको सही सदुपयोग हुन नसकेको स्थानीय भरत केसीले बताए। ( थाहाबाट )