म्यानमारमा नेशनल लीग फर डेमोक्रेसी पार्टी ‘एनएलडी’लाई संसदीय निर्वाचनमा बहुमत

काठमाडौं – म्यानमारको सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी) ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ ।

हालै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले एनएलडीले संसदको दुवै सदनमा बहुमत सिट हासिल गरेको जनाएको छ ।

नोभेम्बरमा भएको निर्वाचनमा संसदको तल्लो सदनमा ३१५ र माथिल्लो सदनमा १६१ सिटका लागि मतदान भएको थियो ।

यस्तै प्रदेश सभाहरुमा ६१२ सिट र अल्पसंख्यक जातीहरुका लागि छुट्याइएको कोटामा २९ सिटका लागि निर्वाचन भएको थियो ।

आयोगको अन्तिम परिणाम अनुसार एनएलडीले ११ सय ६ जना उम्मेद्वार चुनावी मैदानमा उतारेको थियो । एनएलडीले प्रदेशसभाहरुमा ३९६ सिटका विजयी हासिल गरेको छ ।

यस्तै संसदको तल्लो सदनमा २५८ र माथिल्लो सदनमा १३८ सिटमा विजयी भएको छ । मत परीणाम अनुसार एनएलडीले स्पष्ट बहुमत पाएसँगै नयाँ सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ ।

यस्तै युनियन सोलिडारिटी पार्टी (युएसडीपी) ले ३३ सिट हासिल गरेको छ भने बाँकी ४७ सिटमा अन्य दलका उम्मेद्वार विजयी भएका छन् ।

यता सत्तारढ दलले प्रदेशसभाहरुमा ५०१ सिट हासिल गरेको छ भने संसदमा २० सिट हात पारेको छ ।

म्यानमारका राष्ट्रपति यू विन मायान्ट र अर्की नेतृ आङ साङ सुकी पनि संसदको तल्लो सदनमा निर्वाचित भएका छन् ।

यस्तै उपराष्ट्रपति हेनरी भ्यान थिओ भने संसदको माथिल्लो सदनमा निर्वाचित हुनभएको छ ।

म्यानमारमा सन् २००८ मा नयाँ संविधान जारी भएसँगै संसदीय निर्वाचन भएको यो तेस्रो पटक हो ।

निर्वाचनको अन्तिम मत परीणाम सार्वजनिक भएको तीन महिनाभित्र नयाँ सरकार गठन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

यसअघि सन् २०१५ मा भएको आम निर्वाचनमा पनि सत्तारुढ एनएलडी पार्टीले बुहमति सिट हासिल गरेर सरकारको नेतृत्व गरिरहेको छ ।(एजेन्सी)