काठमाडौं – अमेरिकी र्यापर कार्डी बीलाई उनको बोल्ड अन्दाजका लागि चिनिन्छ । हालै कार्डीले आफ्ना प्रशंसक र सोसल मिडिया प्रयोगकर्तालाई आफ्नो एक म्यागजिन कभरका लागि माफी मागेकी छिन् । फुटवियर म्यागजिनको नोभेम्बर इश्यूका लागि कार्डीले एक फोटोसुट गराएकी थिइन् जसमा उनी माता दुर्गाको रुपमा देखिएकी थिइन् ।
यो कभर फोटोमा कार्डी बीको १० हात देख्न सकिन्छ तर उनको हातमा दुर्गाको हतियारको साटो जुत्ता थिए । आफ्नो भिडियोमा कार्डीले भनिन्, ‘जब म सुटिङ गरिरहेकी थिएँ तब क्रिएटिव्सले मलाई म एक देवीको रुप लिन लागेको बताए । ती देवी जो शक्ति, नारित्व र स्वतन्त्रतालाई दर्साउँछ । र मलाई यो मनपर्यो किनभने म यसैका लागि बाँचिरहेकी छु ।’
उनले थपिन्, ‘मलाई यो राम्रो लागेपनि यदि यसले कसैको धार्मिक भावनालाई ठेस पुर्याएको छ वा उनीहरुको संस्कृतिको अपमान गरेको महसुस हुन्छ भने मलाई माफ गर्नुहोस् । यस्तो गर्ने मेरो कुनै उद्देश्य थिएन । म कुनै पनि धर्मलाई अपमान गर्दिनँ । यदि कसैले मेरो धर्मको अपमान गरेको भए मलाई पनि यो राम्रो लाग्ने छैन ।’
उनले थपिन्, ‘म कसैको अपमान गर्न चाहँदैनथेँ तर सायद उनीहरुले थप राम्रोसँग अनुसन्धान गर्नुपर्दथ्यो । म अतितमा गएर आफ्नो गल्ती सुधार्न त सक्दिनँ तर भविष्यमा थप अनुसन्धान गरेर यस्तो गल्ती गर्नबाट पक्कै पनि बच्नेछु ।’
ट्वीटरमा प्रयोगकर्ताले कार्डी बीलाई धेरै कुरा सुनाएका थिए । एक प्रयोगकर्ताले लेखेका थिए, ‘कार्डी बीले हिन्दू देवीको अपमान गरेकी छिन्, उनले आफ्नो हातमा जुत्ता समातेकी थिइन् । यो स्पष्ट रुपमा अपमान हो । अरुको धर्मको अपमान गरेपछि उनी यत्तिकै उम्किन पाउँदिनन् । उनले यसबारे कुरा गर्नैपर्छ र माफी माग्नुपर्छ ।’