जुम्लामा स्थानीय तहले अस्थायी कोभिड अस्पताल सुरु गरे

 

खलङ्गा – जुम्लाका आठवटै स्थानीय तहले धमाधम अस्थायी कोभिड अस्पताल सुरु गरेका छन् । यहाँको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए ।

तिहारपछि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउने पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापले बताए । उनले भने, “गाउँपालिका–५ मा सो अस्पताल स्थापना गरी दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कर्मचारी भर्ना गरिसकेका छौँ ।” कोभिड अस्पतालका लागि विज्ञापन गर्दासमेत मेडिकल अधिकृतको आवेदन कसैको नपरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाको हिमा, तिला, कनकासुन्दरी, सिंजा र गुठीचौर गाउँपालिकाले कोभिड अस्थायी अस्पताल स्थापना गरी सञ्चालनको तयारीमा जुटेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । संघीय सरकारको रु १० लाख बजेटबाट औषधि, औजारलगायत सामान खरिद गरिँदै जाने तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताइन् ।

अस्थायी कोभिड अस्पतालमा एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगीको आवेदन परेको र डाक्टरको दुई पटकसमेत विज्ञापन गर्दा कसैको पनि आवेदन नपरेको गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले बताए । कोभिड अस्पताल सञ्चालका लागि एमबिबिएस डाक्टरको आवेदन कसैको नपरेको यहाँका स्थानीय तहले जनाएका छन् ।