परीक्षण सफल भएपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल

फाइल फोटो

मोरङ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन्।

उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाए । प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शै्ययाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गरे ।

उनले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताए । मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए । मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए ।