भूमिसम्बन्धी आयोग र नगरपालिकाबीच सम्झौता

काठमाडौं – सुकुम्बासीसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले गण्डकी प्रदेशमा नगरपालिकातर्फ कावासोतीबाट काम शुरु गर्ने गरी सम्झौता गरेको छ ।

सो नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले आज आयोगसँग सम्झौता भएको जानकारी दिए । आयोगले सातै प्रदेशका १४ वटा स्थानीय तहबाट काम शुरु गर्न लागेको हो । यसका लागि सम्बन्धीत स्थानीय तहसँग काठमाडौँमा आज सम्झौता भएको हो ।

गण्डकी प्रदेशमा नगरपालिकातर्फ कावासोतीबाट काम शुरु गर्ने गरी आयोगका उपसचिव अन्जन न्यौपाने र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सुकुम्बासीसम्बन्धी समस्या समाधानका लागि सम्झौता भएको र अब प्रक्रिया अगाडी बढ्ने नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।

स्थानीय तहबाट भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासको पहिचान, लगत संकलन र प्रमाणीकरण गर्ने काम, भूमिसम्बन्धी समस्या समाधानमा सहजीकरण समिति गठन गर्ने लगायतका काम नगरपालिकाबाट हुने प्रमुख पुनले बताए ।