काठमाडौं – बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफुले कुनै कार्य नगरेको स्पष्ट पारेका छन् ।
संघीय संसदको संसदीय सुनुवाई समितिमा बिहीबार भएको सुनुवाईमा सांसदहरुको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफुले पदको दुरुपयोग नगरेको स्पष्ट पारे । सनुवाईका क्रममा सांसदहरुले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए ।
प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानुन बमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए । तर पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उनले स्पष्ट पारे ।
राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रुपमा लिनुपर्ने बताए । यस्तै सार्वजनिक पदमा रहेका बेला आफूले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनैपनि व्यक्तिको नाउँमा रकम नराखेको बताउँदै राज्यका जुनसुकै निकायबाट छानविन भएमा आफू सघाउन तयार रहेको बताए ।
सनुवाईमा सांसदहरुले मुख्य सचिवमा पदबाहली रहेको बेला राजीनामा दिएर राजदूतको सिफरिस लिन जाँदा कर्मचारी तन्त्रको रुपरेखा विग्रिएको भन्दै आपत्ति जनाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पद विचैमा छाडेर हिँडदा कर्मचारी तन्त्रकै रुपरेखा बदलिएको बताए । सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तीमा जानुपर्ने प्रवृति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उनले बताए ।
नेपाली काँग्रेसकी सचेतक पुस्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ती लिदा कर्मचारी तन्त्रमा नराम्रो असर परेको बताइन् ।
मुख्यसचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफरिस हुनुले पदको दुरुपयोग गरिएको हुनसक्ने सांसदहरुले बताएका हुन् । तर रेग्मीले अहिलेको संविधान र कानून बमोजिम सरकारले गरेको निर्णयलाई नै आफुले शिरोधार्य गरेको जवाफ दिए ।
( राताेपाटी )