जुम्लामा कर्णाली प्रदेशकै ठूलो हाइअल्टिच्युट फूटसल निर्माण

जुम्ला – कर्णालीको हिमाली जिल्ला जुम्लामा कर्णाली प्रदेशकै दोस्रो तथा ठुलो हाइअल्टिच्यूट फूटसल निर्माण गरिएको छ। जुम्लाको सदरमुकाम खलङ्गा समुन्द्र सतहदेखि दुई हजार ३७५ मिटर उचाईमा रहेको छ।

यहाँका तीनजना व्यक्तिको निजी लगानीमा फूटसल निर्माण गरिएको हो। चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ९५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फूटसलको बुधबार औपचारिक उद्घाटन गरिएको छ। अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंह, २४ नम्बर बाहिनीका बाहिनीपति यामबहादुर सापकोटा र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललगायतको उपस्थितिमा फूटसल उद्घाटन गरिएको हो।

जुम्लाका स्थानीय नीर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख रुपैयाँ संयुक्त लगानीमा फूटसल निर्माण गरि सञ्चालनमा ल्याइएको हो। फूटसल सञ्चालक प्रकाश शाहीले भने, ‘दुई वर्ष पहिलेको पूर्वतयारी अनुसार फूटसल निर्माण गरेका हौँ।’ उनले जुम्लालाई खेलकूद हबका रुपमा विकास गर्ने योजना सहित फूटसल सञ्चालन ल्याइएको बताए। ११ महिना लगाएर ९५ लाख रुपैयाँ लागतमा सबै सामग्री बाहिरबाट निर्यात गरेर जुम्लालाई खेल क्षेत्रमा चिनाउने उद्देश्यले फूटसल निर्माण गरिएको उनको भनाई छ।

प्रतिघण्टा १५ सय रुपैयाँका दरले खेल सञ्चालन गरिनेछ। तत्कालका लागि व्यवसायिक रुपमा सञ्चालन नभए पनि ढिलो/चाँडो खेल क्षेत्र सबैका लागि अपरिहार्य हुने सञ्‍चालकहरूले विश्वास व्यक्त गरेका छन्‌। (थाहा )