काठमाडौं _ नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल सम्वतको नयाँ वर्ष (न्हु दया)का अवसरमा नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराएको छ । सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ ।
हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएसको सहुलित उपलब्ध रहेको जनाएको छ । यी प्याकेज १, ७ र २८ दिनको समयावधिभित्र प्रयोग गर्नुपर्ने हुन्छ ।
नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सक्नेछन् । पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गतका लागि पनि सहुलियत दरमा एसएमएस पठाउन सकिने जनाइएको छ । सीयूजी प्याक अन्तर्गत रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिने जनाइएको छ । सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउनुपर्ने छ ।
यी विभिन्न प्याकका बारे कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।