जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको भवन उद्घाटन

सिमकोट – जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको प्रशासनको नयाँ भवन आज उद्घाटन गरिएको छ । भवन उद्घाटनका लागि कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी र सामाजिक बिकास मन्त्रीको टोलि हुम्लामा पुगेको हो । प्रदेशको टोलि पुगे लगतै आजै सो कार्यालयको प्रशासन भवन उद्घाटन गरिएको छ ।
संघ सरकार मार्फत विनियोजित रकमबाट भवन डिभिजन कार्यालय जुम्लाले कार्यालय निर्माण गरेको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए ।

प्रमुख सिंहका अनुसार, “भवन निर्माण २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैँया ८९ पैसाको लागतमा सम्पन्न भएको हो” ।
भवन उद्घाटन कार्याक्रममा बोल्दै, कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताए । प्रकृतिले दिएको चीजलाई सदुपायेग गराउनको लागी आफुले प्रदेश, संघ सरकारलाई बढी भन्दा बढी ध्यान दिनका लागी आग्रह गर्ने समेत बताए ।

यस्तै स्वास्थ्य संरचना र स्वास्थ्यको जनशक्तिले निकै पछि रहेको कर्णाली प्रदेशमा आफ्नो दुई वर्षको कार्यकालमा निकै अगाडी बढ्नुका साथै संघ सरकारले प्रशंसा समेत गरेको सामाजिक विकास मन्त्री दल रावलले बताए । अबको थप दुई वर्षमा हुम्लालाई २५ शैयाको अस्पतालबाट ५० शैयाको अस्पतालमा रुपान्तरण गर्ने मन्त्री रावलले बताए ।

भवन उद्घाटनका लागी कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, सामाजिक विकास मन्त्री दल रावल, कर्णाली योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकाया, प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काको उपस्थित रहेको थियो ।