कोरोनाको उत्कृष्ट उपचार दिँदै कर्णाली प्रदेश अस्पताल

सुर्खेत-सुर्खेतस्थित चौकुने गाउँपालिकाका ३३ बर्से कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमित पुरुष ६ दिनदेखि प्रदेश अस्पतालमा उपचाररत छन् । अस्पतालमा कोरोनाको उपचारमा खेलाची हुने सुनेका उनले त्यस्तो अवस्था देखनन् । उनले सुनेभन्दा उल्टो सुविधा अस्पतालमा पाए । ‘अस्पतालमा राम्रो हेरचाह भएको छ,’ उनले भने, ‘चेकजाँच पनि बेलाबेलामा भइरहन्छ ।’
खानपिनदेखि बस्नलाई समस्या नभएको आइसोलेसनमा बसेकाहरूको भनाइ छ । ‘अहिले मेरो स्वास्थ्य अवस्था पनि राम्रो नै छ,’ उनले भने, ‘दैनिक चार÷चार घण्टाको फरकमा डक्टरले जाँच गर्नु हुन्छ ।’ उनका अनुसार खाना, नास्तामा चना, साग सब्जी, अण्डा र मासु पनि समावेश गरिएको हुन्छ । प्रत्येक्ष डाक्टरहरूको निगरानीमा उपचार गराउन पाएकोमा खुसी लागेको उनको भनाइ छ । त्यस्तै खाना र नास्ता पनि समयमै दिइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा सरसफाइका लागि पर्याप्त पानी वासिङ मेसिनको पनि सुविधा भएको अस्पतालको भनाइ छ । त्यस्तै कर्णाली प्रदेशका पहिलो संक्रमित दैलेख आठबिस नगरपालिकाका ३५ बर्से पुरुष पनि ६ दिनदेखि प्रदेश अस्पतालमा उपचार गराई रहेका छन् । ‘डाक्डरले समय÷समयमा प्रेसर र ज्वरो नाप्न लगाउनु हुन्छ,’ उनी भन्छन्, ‘नआत्तिनुस् तपाईंको स्वास्थ्यमा सुधार हुँदै गएको छ भन्दा खुसी लाग्छ ।’
प्रदेश अस्पतालका डाक्डर नवराज केसीले बिरामीको प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र हौसला प्रदान गर्न अस्पतालले विषेश ख्याल गरेको जनाए । ‘अस्पतालमा बिरामीको स्वास्थ्य अवस्थाको राम्रो ख्याल गरिएको छ । बिरामीको भावना बुझ्ने, कुरा गर्ने साथै पोषणयुक्त खानाको व्यवस्था गरिएको छ । प्रदेश अस्पतामा उपचार गराईरहेका अभिभावकको साथमा एक चार बर्से बच्चा पनि छन् । बच्चालाई खेलौना व्यवस्था पनि गरिएको छ,’ उनले भने ।
हाल कर्णाली प्रदेश अस्पतालमा ३२ जना कोरोना भाइरस कोभिड १९ का बिरामीहरूले उपचार गराइरहेका छन् । ती बिरामीको उपचार गर्न पहिलो चरणमा दुईजना डाक्टर खटिएका छन् । प्रदेश अस्पतालका मेडिसियन विभाग प्रमुख फिजिसियन डाक्टर केएन पौडेलका अनुसार दुईजना डाक्डरले १२÷१२ घण्टा डिउटी गर्दै आएका छन् । सबै बिरामी सामान्य रहेको र स्रोतसाधन पनि कम भएकाले १२ घण्टा डिउटी गर्नु परेको उनको भनाइ छ । यदी बिरामी सिरियर भएमा स्रोतसाधन र डाक्टरको संख्या थप गर्ने उनले जानकारी दिए ।