आईपीएल क्रिकेटको उपाधि मुम्बईलाई

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हिजो राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले सर्वाधिकह ६८ रनको अर्धशतकीय इनिङ्स् खेले ।

उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे । यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १÷१ विकेट लिए । दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स् खेले ।

खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो ।

मुम्बईले यस अघि सन् २०१३ ,१५, १७ र सन्२०१९ मा उपाधि चुमेको थियो । मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो ।

पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली यस अघि लिगको दुई भेट र पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।

यस्तै सन्दीपले यस सिजन दिल्लीको टिमबाट मैदानमा उत्रन पाएनन् । एजेन्सी