दसैँतिहारमा रारा घुम्ने बढे

कोरोनाका कारणले सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको संख्या बढेको छ । दसैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको संख्या बढेको हो ।

कोरोना कारणले सुनसान रहेको रारामा दसैँतिहारको बीचमा आन्तरिक पर्यटकको संख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेका निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए । ‘विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।’

रारा राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकामा रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिए छन् । प्रायः आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेका निकुञ्जका निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए ।

रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् । रमेश रावल/शिलापत्र