कोरोनाको कहरले परीक्षा स्थगित

सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर १ शीतलपाटीस्थित शिवजन माविमा सञ्चालित कक्षा ११ को वार्षिक परीक्षा स्थगित भएको छ ।

शारदा नगरपालिका वडा नम्बर १ कार्यालयले कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै कार्तिक २३ गतेदेखि श्रीनगरलगायत आसपासका क्षेत्र सिल गरेपछि परीक्षा स्थगित भएको हो ।

कात्तिक २१ गतेदेखि सुरु भएको कक्षा ११ को परीक्षा दुई दिन सञ्चालन भएपछि अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि स्थगित गरिएको प्रधानाध्यापक हिरालाल नेपालीले जानकारी दिए ।

परीक्षासँगै विद्यालयमा भइरहेको पढाइ पनि बन्द गरिएको विद्यालयले जनाएको छ ।

अहिले सल्यानमा केही विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गरिरहेका छन् । केही विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नतिजा दिने तयारी गरेका छन् ।