नेकपा तमासा– बैठकका लागि कार्यकारी अध्यक्ष पत्र लिएर बालुवाटार धाउनुपर्ने !

नेकपा तमासा– बैठकका लागि कार्यकारी अध्यक्ष पत्र लिएर बालुवाटार धाउनुपर्ने !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सत्तामा रहेका र बाहिर रहेकाबीच ध्रुवीकरण बढेको छ । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका तीन सदस्यलाई मन्त्री बनाएका छन् । उनीहरु ओलीको पक्षमा उभिँदै आएका छन् भने सरकारभन्दा बाहिर रहेका पाँच जनाले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगातार दुईदिन धुम्बाराहीमा बसेको बैठकपछि नेकपा सचिवालयको औपचारिक बैठकका लागि आग्रह गर्दै बालुवाटार पुगेका छन् । उनीहरुले पार्टी फुटका लागि नभइ एकताका लागि बैठकको दबाब दिएको बताए पनि प्रधानमन्त्री ओलीले आफूबेगरको बैठक राखेर निर्णय गराएमा फुटको बिन्दु हुने चेतावनी दिएका छन् ।

दाहाल पक्षले ओलीले एकलौटी गरेको, पार्टीमा कुनै छलफल नगरेको, मन्त्रीहरु आफूखुसी नियुक्त गर्ने गरेको, संवैधानिक निकायमा नियुक्तिका लागि छलफल नगरेको, पार्टीको हितविपरीत खुफिया एजेन्सीका प्रमुखलाई भेटेको लगायतका आरोप लगाउँदै आएका छन् । पाँचजना नेताहरु धुम्बाराहीमा अनौपचारिक छलफल गरेर बैठकको आग्रह गर्दै बालुवाटार पुगेका हुन् ।

तर ओलीले पहिले दुई अध्यक्षबीच सहमति नभए औपचारिक बैठक नराख्ने चेतावनी दिइरहेका छन्।