समर्थकहरुलाई बाइडेनको सम्बोधन–हामी राम्रो मतसहित जित्दैछौं

एजेन्सी- अधिकांश ब्याटलग्राउन्ट स्टेटहरुमा अग्रता लिएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले जनताले आफूलाई म्यान्डेट दिएको दाबी गरेका छन् । यद्यपी, उनले विजय भने घोषणा गरिसकेका छैनन् ।
‘अहिलेसम्म अन्तिम घोषणा भइसकेको छैन । तर, भोट संख्याले स्पष्ट कुरा बताउँछ । हामी यो दौड जित्दैछौं,’ डेलावेरस्थित आफ्नो गृहनगर विल्मिङटनबाट समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले भने । उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई सँगै राखेर समर्थकहरुलाई सम्बोधन गरेका पूर्व उपराष्ट्रपति बाइडेनले ‘जनताले ठूलो स्वरमा बोलेकाले’ किर्तिमानी ७ करोड ४० लाख भोट डेमोक्रेटिकका पक्षमा आएको बताए ।

बाइडेनले सबै वर्ग, आस्था र धर्मका बहुसंख्यक अमेरिकीहरुले परिवर्तन रोजेको बताए । कोभिड–१९, अर्थतन्त्र, जलवायु परिवर्तन, रंगभेद आदी मुद्दामा कदम चाल्नका लागि उनीहरुले म्यान्डेट दिएको बाइडेनले बताए ।
ब्याटलग्राउन्ड स्टेट भनिएका पाँच निर्णायक राज्यको मतगणना बाँकी छँदा चार राज्यमा बाइडेन अघि छन् । उनले एरिजोना, पेन्सिलभेनिया, जर्जिया र नेभादामा अग्रता लिएका छन् । यीमध्ये दुुई राज्यमात्रै जित्नसके बाइडेनको जित पक्का हुनेछ ।

यदि, पेन्सिलभेनियामा विजयी भएमा अन्य राज्य हारेपनि उनी राष्ट्रपति निर्वाचित हुनेछन् । राष्ट्रपति बन्नका लागि आवश्यक २ सय ७० मतमध्ये २ सय ५३ मत बाइडेनको पक्षमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तोमा उनलाई राष्ट्रपति बन्न १७ इलेक्टोरल मतको खाँचो छ । एरिजोनामा ११, जर्जियामा १६, नेभादामा ६ र पेन्सिलभेनियामा २० इलेक्टोरल मत छ । राष्ट्रपति ट्रम्पको अग्रता भने उत्तरी क्यारोलिनमा मात्रै छ । यहाँ १५ इलेक्टोरल मत छ । ट्रम्पको पक्षमा अहिलेसम्म २ सय १४ मतमात्रै देखिएको छ । त्यसैले, पुनर्निर्वाचित हुनका लागि ट्रम्पले ब्याटलग्राउन्ड स्टेटहरुमा नतिजा उल्ट्याउन सक्नुपर्छ ।