जनतालाई बाइडनले भने–‘कुनै दुबिधा छैन म ट्रम्पलाई हराउँछु’

एजेन्सी- अमेरिकी राष्ट्रपतिका लागि जीत नजिक पुग्नुभएका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई धैर्य राख्न अपील गर्नुभएको छ ।

सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न आह्वान गर्दै बाइडनले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न पनि सबैसँग आग्रह गर्नुभएको छ ।

आफूले प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउनेमा कुनै दुबिधा नरहेको भन्दै उहाँले जुन भोटले मुलुकको राष्ट्रपति चुनिन्छ त्यस्तो महत्वपूर्ण एक/एक मत गणना गरिनुपर्नेमा प्रष्ट गर्नुभयो ।

आफू र उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई गणना पूरा हुँदा आफूहरुको जीत हुनेमा पूर्ण विश्वास रहेको भन्दै उहाँले सम्पूर्ण नागरिकलाई शान्त रहन र चुनावको सबै प्रक्रिया पूरा हुन दिन आह्वान गर्नुभयो ।

उता रिपबिल्कन पार्टीका उम्मेवार ट्रम्पले भने मतगणना जारी रहेका पेन्सिलभेनिया मिचिगन, जर्जिया, नेभेदालगायतका राज्यको मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा हाल्नुभएको छ ।

ट्रम्पको चुनावी अभियानका नेताले गणितमा आफूहरु पछि परेको भन्दै अब अरु बाटोका लागि भगवानसँग कामना गर्नुको विकल्प छैन भनेका छन् ।

तर डेमोक्र्याट चुनावी अभियानले ट्रम्पका मुद्दा बेतूकको रहेको भन्दै यो जनमतको घोर अपमान हुने बताएको छ ।

फक्स न्यूजका अनुसार मतगणनाको अन्तिमतिर पुग्दा बाइडेन जीत घोषणाका लागि ६ मतले पछाडी हुनुहुन्छ र उहाँलाई त्यो मत डेमोक्रेटहरुको परम्परागत राज्यका रुपमा चिनिएको नेभदाबाट मिल्ने अपेक्षा गरिएको छ । यद्यपि, त्यहाँ पनि मतको अन्तर भने निकै नै झिनो देखिएको छ ।

ट्रम्पले त बुधबार नै गणनाको प्रारम्भिक रुझानमै आफू विजयी भैसकेको घोषणा गर्नुभएको थियो । तर जसै मतगणना सकिँदै गयो बाइडेनले उछिन्दै जानुभएपछि उहाँ मुद्दामामलामा लाग्नुभएको छ ।

ट्रम्पले आफू पछि परेका नेभादा, विस्कन्सिन, जर्जिया, पेन्सिलभेनिया, मिचिगनलगायतका राज्यमा पुनःमतगणना गर्नुपर्ने माग पनि गर्नुभएको छ ।