काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको असामयिक निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
ट्वीटमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवम् पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुस्ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजीसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा सीता महराको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।