अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या १ लाखभन्दा बढी

काठमाडौँ – संयुक्त राज्य अमेरिकामा कोरोनाबाट मृत्यु हुने संख्या १ लाख नाघेको छ।

मंगलबारसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढेर १ लाख ५ सय ७२ पुगेको हो। पछिल्लो २४ घन्टामा मात्रै ७०० जना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा हालसम्म १७ लाख २५ हजार २ सय ७५ जना संक्रमित छन् भने ४ लाख ७९ हजार २ सय ७५ले कोरोनालाई हराएका छन्। त्यस्तै, विश्वभर गरेर हालसम्म ५६ लाख ८३ हजार ८ सय २ मानिस संक्रमित छन्। जसमध्ये २४ लाख ३० हजार ५ सय २७ जना निको भएका छन्। मृत्युको संख्या बढेर ३ लाख ५२ हजार २ सय पुगेको छ। कोरोना भाइरस(कोभिड-१९)बाट सबैभन्दा बढी प्रभावित बनेको देश पहिलो अमेरिका, दोश्रो ब्राजिल, तेश्रो रुस, चौथो स्पेन, पांचौ ब्रिटेन, छैठौं इटाली, सातौं फ्रान्स, आठौँ जर्मनी, नवौं टर्की र दशौं भारत हो।