८ वर्ष कैद फैसला भएका अभियुक्त ३० वर्षपछि पक्राउ

सुर्खेत –  जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई  सुर्खेत प्रहरीले पक्राउ गरेको छ । ३० वर्षदेखि फरार रहेका ती अभियुक्तलाई बर्दियाकाे बाँसगढी नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ परेका सुनारले व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोग लागेको र अदालतले फैसला गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । अदालतले उनलाई ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उनलाइ पक्राउ गर्न इलाका प्रहरी कार्यालय बावियाचाैरका प्रहरी सहायक निरीक्षक हरी साउदको कमाण्डमा चार जनाको टोली बर्दिया पुगेकाे थियाे ।

साविकको सालकोट गाविसका (हाल पञ्चपुरी नगरपलिका–२) का सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए । उनीसहित सहोदर तीन भाइ यो घटनामा संलग्न थिए । जसमध्ये अमरसहित दुई भाई पक्राउ परिसकेका छन् भने एक जना फरार छन् ।

घटनापछि पीडित तुलारामको बायाँ हात र बायाँ खुट्टा चल्न छोडेको उनका छोरा डिल्लीराम निउरेले बताए । उनका अनुसार तीनै भाइलाई अदालतले ८/८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला भएको राति नै कसैलाई थाहा नदिएर उनीहरूको परिवार नै फरार भएको थियो ।