प्रधानमन्त्रीको सन्देश लिएर शंकर पोखरेल खुमलटारमा, प्रचण्ड बालुवाटार जान मानेनन्

फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिहीबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगे।

दुई अध्यक्षबीच पछिल्लो समय टुटेको संवाद सुरू गराउन पोखरेल खुमलटार पुगे पनि प्रचण्डले आज पनि बालुवाटार गएर प्रधानमन्त्रीसँग वार्तालाप गर्न मानेनन्।

‘प्रधानमन्त्रीको सन्देश लिएर शंकरजीले प्रचण्डलाई भेट्नुभएको छ। प्रधानमन्त्रीका तर्फबाट ताकेता भइरहेको छ। तर प्रचण्ड बालुवाटार जान मान्नुभएको छैन,’ प्रचण्डनिकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘छलफल भइहरहने तर त्यसको कार्यान्वयन नहुने भएपछि भेट्नुको कुनै अर्थ छैन भन्ने उहाँको स्पष्ट मान्यता छ।’

प्रचण्डलाई भेट्न बुधबार पनि अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता खुमलटार पुगेका थिए। मंगलबार, बुधबार र बिहीबार तीनै दिन प्रधानमन्त्री ओलीले भेट्न बोलाए पनि प्रचण्ड नगएको उनीनिकट स्रोतको दावी छ।

‘कर्णालीदेखि पर्सा प्रकरणसम्म प्रचण्डलाई चित्त नबुझेका विषय धेरै छन्। र’अ प्रमुखसँगको भेटघाट त सबै छताछुल्लै भइसकेको छ,’ प्रचण्ड निकट एक नेताले भने, ‘छलफलका लागि बोलाउने तर निर्णय आफ्नो अनुसार गर्ने प्रधानमन्त्रीको प्रवृत्ति छ। पार्टीका निर्णय एकपछि अर्को गर्दै उल्लंघन हुँदै गएपछि भेट्नुको कुनै अर्थ छैन भन्ने उहाँको भनाइ हो।’

पछिल्लो पटक कात्तिक ३ गते प्रधानमन्त्री ओली र प्रचण्डको भेट भएको थियो। त्यसयता दुई अध्यक्षबीच भेट हुन सकेको छैन। बरू यो बीचमा ओलीले कात्तिक ४ र ११ गते गरी दुई पटक वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएका छन्।

ओली र नेपालबीच एक्लाएक्लै भएका कुराकानीमा ओलीले सहकार्यका लागि प्रस्ताव राखेको नेपाल पक्षको दावी छ। तर नेपालले त्यसमा खासै चासो राखेका छैनन्। प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालनमा विधि र पद्दति मिचेको र एकलौटी गरेकामा नेपालले आपत्ति जनाएका छन्।

बालुवाटारले भने दुई अध्यक्षबीच दोस्रो तहका नेतामार्फत कुरा भइराखेको र प्रचण्ड क्वारेन्टिनमा बसेकाले उनीहरूबीच प्रत्यक्ष भेटघाट हुन नसकेको दावी गरेको छ।

स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएपछि प्रचण्ड क्वारेन्टिनमा छन्। शर्मालाई कात्तिक ९ गते कोरोना देखिएको थियो।

दुई अध्यक्षबीच अप्रत्यक्ष रूपमा भइरहेका कुराकानीले पनि अहिलेको समस्याको समाधान निकाल्ने प्रधानमन्त्रीनिकट एक नेताले विश्वास व्यक्त गरे।

‘प्रचण्डले प्रधानमन्त्री निकट नेताहरूलाई खुमलटार बोलाएर छलफल गरिरहनुभएको छ। सायद त्यसले पनि सहमतिका लागि केही सहयोग पुर्‍याउँछ होला,’ उनले भने, ‘बिगार्न खोज्नेहरू पनि धेरै छन्। प्रचण्डले पनि बेलाबेलामा नयाँनयाँ विषय ल्याएर गतिरोध बढाइरहनुहुन्छ।’ प्रचण्डको मुख्य असन्तुष्टि मन्त्रिमण्डल पुनर्गठनमा रहेको प्रधानमन्त्री निकट एक नेताले जिकिर गरे।

यसपालि मदभेद बढ्दै गए नेपाल-प्रचण्ड पक्षले अविश्वासको प्रस्तावसम्म ल्याउन सक्ने आशंका प्रधानमन्त्री ओली निकटको छ।

‘प्रधानमन्त्रीलाई असजिलो पार्ने प्रचण्डको नियमित काम जस्तै भइसकेको छ। अहिले त उनी माधव नेपालसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी समेत गर्दैछन्। तर प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन उनीहरूले सोचेजस्तो सहज छैन,’ ओली निकट एक स्थायी कमिटी सदस्यले भने।

अहिले पनि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्री निकटहरूले सक्रियता बढाएका छन्। प्रचण्डसँग सहमति प्रयासका लागि महासचिव पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ लागिरहेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि काठमाडौं आएका छन्।

प्रधानमन्त्री निकटका नेताहरूको समेत विभिन्न चरणमा छलफल भइरहेको छ।

यसपटक प्रधानमन्त्रीसँग छलफलका लागि प्रचण्डले भने कोही पनि नेता खटाएका छैनन्। यसअघि असजिलो हुँदा ऊर्जामन्त्री एवम् स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा बालुवाटार गइरहन्थे।

‘अहिले जनार्दन आइसोलेसनमा हुनुहुन्छ। वर्षमानलाई पनि प्रचण्डले पठाउनुभएको छैन,’ प्रचण्ड निकट स्रोतले भन्यो।

प्रधानमन्त्री निकट नेताहरूले प्रचण्ड-माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउन लागेको दावी गरे पनि प्रचण्ड-नेपाल पक्षले त्यसलाई अस्विकार गरेको छ।

‘अहिलेको परिस्थिति हेर्दा यही हुन्छ भन्न सकिँदैन। राजनीतिक वातावरण एकदमै तरल भएको छ,’ प्रचण्ड-नेपाल निकट एक नेताले भने, ‘अहिले तत्कालै अविश्वासको प्रस्ताव आउँदैन होला। प्रधानमन्त्रीको रवैया यस्तै भइरह्यो भने पछिको कुरा भन्न सकिँदैन। (सेतोपाटी)