दैलेख – नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्का सहित १२ जनामा कोरोना पुष्टि भएको छ । दुई–तीन दिनदेखि रुघाखोकी बढेपछि दैलेख प्रयोगशालामा बिहीवार परीक्षण गराउँदा कोरोना पुष्टिभएको नगरप्रमुख खड्काले बताए ।
दैलेख प्रयोगशालामा परीक्षण गरिएका १२ जना सबैलाई कोरोना पुष्टि भएपछि नगरप्रमुख खड्का, वडा नं १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ पनि दैलेख अस्पतालको आइसुलेसनमा बसेका छन् ।
आइसुलेसनमा खानबस्न सुविधा नभएको भनी टिप्पणी भएको बेला बाहिर बस्ता नकारात्मक बुझाई हुने भएकोले नागरिकहरुको आत्मबिश्वास बढाउन आफू आइसुलेसनमा गएको नगरप्रमुख खड्काले बताए ।
बिहीवार नगरप्रमुख खड्कासहित कोरोना पुष्टि हुनेहरुको संख्या १३ सय ४५ जना पुगेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार ती मध्ये कोरोना अस्पताल र होम आइसुलेसन समेत एक सय ८ जना संक्रमित उपचारत छन् ।