पीएसजीको फराकिलो जितमा एम्बाप्पेको दुई गोल

फ्रेन्च लिग वान फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले डिजोनमाथि ४-० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन मोइसे केअन र केलियन एम्बाप्पेले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै मोइसेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै २३औं मिनेटमा मोइसेले व्यक्तिगत दोस्रो गोल गरे । उनले नेयमारको पासमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २-० को अग्रता दिलाएका हुन् ।

७३औं मिनेटमा मोइसेको स्थानमा मैदान छिरेका एम्बाप्पेले थप दुई गोल गरे । उनले ८२औं मिनेटमा नेयमारको पासमा गोल गरेका हुन् । त्यस्तै ८८औं मिनेटमा साराबियाको पासमा गोल गर्दै पीएजीलाई ४-० को फराकिलो जित दिलाए ।

यो जितसँगै पीएसजी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ८ खेल खेलेको पीएसजीले १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेल खेलेको पराजित डिजोन भने दुई अंकका साथ पुछारमा छ । -एजेन्सी