कर्णालीमा कोरोना संक्रमितको परीक्षण र उपचार नि:शुल्क गरिने

आइतबार रातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

सुर्खेत — कर्णाली प्रदेश सरकारले लक्षणसहितका कोरोना संक्रमितको परीक्षण तथा उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

संघीय सरकारले संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने नीति लिए पनि कर्णाली सरकारले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेशमा शुक्रबारसम्म ८६ हजार ३ सय ५ जनाको पीसीआर परीक्षण भएकोमा ५ हजार ७ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले १ हजार १ सय ८७ जना संक्रमित आइसोलेसनमा बसिरहेका छन् भने कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । यसका साथै ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान’ स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्ने निर्णय पनि गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त प्रतिष्ठान गठन आदेशबाट स्थापना गर्न खोजे पनि मन्त्रिपरिषद्ले फिर्ता पठाएको थियो । बैठकले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभा पेस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी अनुमोदन गर्ने, महिला विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार गर्न स्वीकृति गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गर्नेसम्बन्धी निर्णय गरेको छ ।