हेर न साथी घरको आगनिमा

दशैँ, तिहार कविता-२

बिनिता न्यौपाने

हेर न साथी घरको आगनिमा
सयपत्री र मखमलिका कोपिला लागिरहेछ्न,
राती माटो र कमेरोले घर सजाउदा
बा-आमाका हातहरु थाकिरहेछ्न।।

त्यो पल्लो घरका साना बाबुनानिले
कागजका चङ्गाहरु काटिरहेछ्न,
छोरा परदेशमा रहदाका पिडा
तल्ला घरे बाजेले साटिरहेछ्न।।

बेसिका खेतमा धानका बाला पहेलै
काटी काम सकाउन काकाहरु जागिरहेछ्न,
अग्रजका हातबाट टीका लगाएर
कलिला शिरहरुले आशिर्वाद मागिरहेछ्न।।

तिहारैको पर्व आइसक्यो हेर
घर-घरमा सेलरोटी पाकिरहेछ्न,
दाजुभाइ घरमा नआउने खबरले
दिदीबहिनीले आशु झारिरहेछ्न।।

आहा ! यो रमाइलो लक्ष्मिपुजाको दिनैमा
तेल राखी पालामा दियो बालिरहेछ्न,
देउसी र भैलो खेलेर सकाएर आइ
सयपत्री र मखमली गासिरहेछ्न।।

बिनिता न्यौपाने
देबदह-७,रुपन्देही