दसैँतिहारमा भिडभाड नगर्न प्रशासनको आग्रह

जुम्ला- जिल्ला प्रशासन कार्यालय जुम्लाले दसैँ र तिहारमा हुने भिडभाड कम गर्न जुम्लाबासीलाई आग्रह गरेको छ । यो अवधिभर स्वास्थ्य तथा सुरक्षाको मापदण्डको अधिकतम पालना गर्न आग्रह गरेको हो ।

दैनिक जीवनयापन, सेवा प्रवाह, विकास निर्माण, तथा पेशा व्यवसाय सहज ढंगले सञ्चालन हन सकिरहेको छैन । यही बीचमा नेपालीहरूले मनाउने बडादशैं, शुश दिपावली, नेपाल सम्बत, छठ पर्व जस्ता चार्ड पर्वहरू आइरहेका छन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भन्छन्,‘चार्डपर्व मनाउँदा कोभिड १९ को संक्रमण परिवार हुदै समाजमा फैलन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पर्ने देखिएको छ ।’

चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरी, डकैती, झैझगडा, लगायतका अपराध तथा आगलागी, विष्फोट जस्ता घटनाबाट बच्न समेत उच्च सतर्कता र सावधानी अपनाउन जुम्लाबासीमा आग्रह गरिएकोहाे ।

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेको छ, त्यही रही अनावश्यक जमघट र यात्रा नगरी आफ्नै परिवारका सदस्यहरूबीच मात्रै मनाउनुहोला । जिल्ला भित्र सञ्चालन हुने कुनै मेला, जात्रा, महोत्सव, खेलकद तथा मानिसहरूको अनावश्यक भिडभाड र जमघट हुने खालका कुनै पनि कार्यहरू नगर्नु होला र नगराउनुहोला । चार्डपर्वमा किनमेल, भेटघाट गर्दा भिडभाड नहुने गरी भौतिक दुरी कायम गर्ने, माक्स, सेनिटाइजरको प्रयोग जस्ता स्वास्थ्य  तथा सुरक्षाका मापदण्ड पालना गर्ने गराउनु होला । यो कार्यले मात्र कोरोना संक्रमणको खतरा कम गर्न सक्छ । ’

शक्तिपीठमा नित्य पूजापाठ बाहेकका मानिसहरू भेला वा जम्मा हुने गरी उत्सव, भजन, किर्तन, लगायतका कार्य नगर्ने र नगराउने, यातायातको मापदण्ड पूर्णरूपमा पालना गरी गराई मर्यादित र अनुशासित तवरबाट मात्र सार्वजनिक यातायातको सेवा सञ्चालन भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बेलुका आठ बजे पश्चात मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखन तथा सेवन गर्न नपाउने निर्णय गरेको छ । मदिराजन्य पदार्थ सेवन गरी हिडेको पाईएमा प्रचलित कानून बमोजिम कार्वाही गरिने चेतावनी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘ पटका, आतिसबाजी लगायतका विष्फोटक पदार्थको आयात, प्रयोग र संचय गर्न पाइनेछैन । जुवा, तास खेल्ने खेलाउने लगायतका कानूनले निषेध गरेका कुनै प्रकारका कार्यहरू गर्न पाइनेछैन । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, बढी भाडा असुल गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने छैन् । यदी यो कार्य गरेको भेटिएको खण्डमा कडाकार्वाही हुनेछ । ’

सवारीसाधनमा यात्रुहरूलाई अभद्र व्यवहार गर्ने, गन्तव्य सम्म नपुर्याउने, सडक अवरोध हुने गरी पार्किङ गर्ने जस्ता कार्य गर्न पाइनेछैन । पसल तथा व्यवसाय सञ्चालन गर्दा भीडभाड नहुने गरी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड प्रयोग गरेर सञ्चालन गर्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी थापाले गुणस्तरीय वस्तु सेवा समुचित मूल्यमा विक्री वितरण गर्ने, सामाजिक दुरी कायम गर्ने, घर बाहिर निस्कदा अनिवार्य रूपमा मास्क लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पालना गर्ने र कुनै लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न निर्देशन गरेको छ ।

कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलदैँ गइरहेकोले उच्च सावधानी अपनाउनको लागि स्थानीय प्रशासनले सुचित गरेको छ ।