कार्यालयको उद्घाटनमा उपमेयरले ढुंगा हानिन्

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् ।

तर भवन उद्घाटनका क्रममा  मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् ।

शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयरले शिलालेखमा ढुंगा हानेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन् ।

मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन् ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताएकाे अनलाइनखबरमा समाचार प्रकाशित छ । वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गर्दै भने, ‘वडाध्यक्षले उद्घाटन गर्छ, वडा सदस्यहरु सहभागी हुन्छन्।’

तर उपमेयर टसकोमस भइनन् र, सबै भवनमा उपमेयरको पनि नाम राख्ने सहमति भएको छ ।