रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले बिहीबार रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा गरेको छ । तीन जना मन्त्रीहरूले शपथ लिएपछि बसेको बैठकले सचिवहरूको हेरफेरको निर्णय लिएको छ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार झन्डै एक महिना बढी जगेडामा राखेर प्रधानमन्त्री कार्यालयको सचिवको जिम्मेवारी दिएका केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । उपराष्ट्रपति कार्यालयका खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतम युवा तथा खेलकुदमा र युवा खेलकुदका रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत एकनारायण अर्याललाई पर्यटनको जिम्मेवारी दिइएको छ । पर्यटन मन्त्रालयमा सचिव रिक्त थियो । भौतिक पूर्वाधार मन्त्रालयका देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा लगिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधारमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयबाट केही महिनाअघि प्रधानमन्त्री कार्यालय तानिएका यादव कोइरालालाई संघीय मामिलामा लगिएको छ ।

जल तथा ऊर्जा आयोगमा रहेका रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । सहरी विकासका मधुसुदनप्रसाद अधिकारीलाई ऊर्जामा सरुवा गरिएको छ ।