काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एक्कासि प्रस्ताव ल्याएको बताएका छन् ।
अध्यक्ष बोगटीले नेताहरूले विवाद समाधान गर्न तत्परता देखाइरहेकाले समाधान हुने बताए । “यो पहिलोपटक होइन । पटकपटक यस्ता प्रयत्न भएका हुन् । अघिल्लापटक बेलैमा सूचना पाइन्थ्यो र समाधान पनि हुन्थ्यो,” उनले भने, “यसपटक थाहै पो पाइनँ । साथीहरूले एक्कासि ल्याएछन् ।”
उनले दुई अध्यक्ष छलफल गरिरहेका र अरू नेताहरूका बीचमा पनि छलफल जारी रहेकाले समाधान हुने बताए । “दुवै पक्षले आ-आफ्नो तयारी गरे पनि यो विवाद मिल्छ,” उनले बाह्रखरीसँग भने, “नमिलाई सुखै छैन ।”
कर्णाली प्रदेशमा विवाद चर्किएपछि नेकपाका नेताहरूको मङ्गलबार पनि बिहानैदेखि दौडधूप चलेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बिहानैदेखि परामर्श गरिरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा छन् । सुर्खेत पुगेका केन्द्रीय सदस्यहरूले पनि भूमिका खेलिरहेको नेकपाका नेता बताउँछन् ।