काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद हुने जनाएको छ । पछिल्लो समय कोरोना पोजेटिभ रिपोर्ट आएका मानिसहरु आइसोलेसनमा नबसी अन्यत्र हिँडिरहेको र अन्य व्यक्तिको सम्पर्कमा आएकाले त्यस्ता मानिसलाई पक्राउ गरी सजाय गर्न मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको हो ।
कोरोना पोजेटिभ आएका मानिसहरु आइसोलेसनमा नबसे संक्रामक रोग ऐन अन्तर्गत ६ महिना जेल सजाय हुने व्यवस्था छ । संक्रमित व्यक्ति आइसोलेसनमा नबसी अन्यत्र हिडेको थाहा भएमा घरपरिवार अथवा छिमेकीले अनुगमन गरी खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ। यस्तै, कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब दिएका मानिसहरु रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा बस्न मन्त्रालयको अनुरोध छ ।