कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

सुर्खेत-कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राति जनाएअनुसार कर्णाली प्रदेशको दैलेखमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित प्रयोगशाला, नेपालगन्ज प्रयोगशाला र कोशी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणका थप १८ जनाका कोरोना पुष्टि भएको हो । जसमध्ये सबैभन्दा बढी बाँके नरैनापुर निवासी १२ जना रहेका छन् । यसअघि त्यहाँका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नरैनापुरमा मात्र कोरोना संक्रमितको संख्या ६० जना पुगेको छ । यस्तै, कर्णाली प्रदेशको दैलेख जिल्लाको आठबिस १ निवासी १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । खोटाङको हलेसी निवासी पुरुषमा कोरोना देखिएको हो । यस्तै, सोमबार नै सुनसरीमा पनि १ जनामा पुरुषमा संक्रमण पुष्टि भएको हो भने झापामा १ जना थपमा कोरोना देखिएको छ । धनुषामा थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।