लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण

बुटवल—लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा शनिबार उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वकीय सचिव पवनकुमार कुँवरले बताए ।

 

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा इमर्जेन्सी एक्सपर्ट टेस्टबाट स्वाव परीक्षण गरिएको थियो । मन्त्री केसी कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । प्रदेशसभाको स्थायी राजधानी र नामाकरण सम्बन्धमा प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रदेशसभा सदस्यहरुका बीच ‘पेलापेल’ हुँदा मन्त्री बीचमा घेरिएका थिए । मन्त्रीमा संक्रमण देखिएपछि अन्य सांसद तथा मन्त्रीहरु समेतमा संक्रमणको जोखिम बढेको छ ।