प्रधानमन्त्रीलाई कांग्रेसको कडा प्रश्नः डा. केसीलाई कात्रो पठाउने तयारी हो ?

काठमाडौं- नेपाली कांग्रेसले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बेवास्ता गरेकामा सरकारलाई कडा प्रश्न सोधेको छ ।

डा. गोविन्द केसीका मागप्रति सरकार उदासीन रहेकामा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई ‘डा. केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो ?’ भनेर प्रश्न गरेको हो ।

बुधबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीसँग वार्ता नगर्ने बालुवाटारको बालहठ महँगो पर्ने चेतावनी दिनुभएको हो ।

विज्ञप्तिमा शर्माले लेख्नुभएको छ, ‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’

शान्तिपूर्ण सत्याग्रहलाई सुन्नसमेत नचाहनुले सरकारको अलोकतान्त्रिक चरित्र उजागर भएको कांग्रेसको निष्कर्ष छ ।

यसले कम्युनिष्टतन्त्रको मनोविज्ञानलाई पुष्टि गरेको भन्दै कांग्रेसले अनशनको २४ दिनसम्म पनि वार्ता टोली गठन नगरिनु आपत्तिजनक भएको जनाएको छ । (Imagekhabar)