सुर्खेत -जल तथा मौसम सम्वन्धी पूर्वसूचना प्रणालीबारे मिडियाकर्मीसँगको अन्तरक्रियाकार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
आइतबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत तथा शहरी विपद् जोखिम व्यवस्थापन परियोजनाको पहल र जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतको आयोजनामा जल तथा मौसम सम्बन्धी पूर्वसूचना प्रणालीबारे मिडियाकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले जोखिम व्यवस्थापनका लागि हामी सबैले उत्तिकै जिम्मेवारी वोधका साथ कर्तव्य पालना गर्नुपर्ने बताए । मौसम पूर्वानुमानका लागि प्रविधिको प्रयोग गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न स्थानीय सरकारले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको उनको भनाई छ ।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले नेपालमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीबारे जानकारी दिए । साथै उनले वीरेन्द्रनगर नगरपालिका, रेडक्रस र जल तथा मौसम विज्ञान कार्यालयको संयुक्त प्रयासमा संचालित बाढी सम्बन्धी पूर्वसूचना प्रणालीका बारेमा समेत जानकारी दिए ।
शहरी विपद् जोखिम व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिकाका बाढी संकटासन्न समुदायमा बाढी सम्बन्धी पूर्वसूचना प्रवाह गर्नका लागि मोवाइल एसएमएस घेरा निर्माण भएको र आगामी दिनमा बाढी आउनु अगाडि नै संकटासन्न समुदायमा बसोबास गर्ने मानिसहरुको मोवाइलमा सतर्कता सन्देश प्रवाह हुने समेत प्रमुख पराजुलीले जानकारी दिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, सुर्खेत शाखाका सभापति रामलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।