कर्णालीका प्राविधिक शिक्षालयको गुणस्तर सुधार्न अभिमुखीकरण

सुर्खेत – वीरेन्द्रनगरमा माघ १३ र १४ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम संस्थागत गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) सम्बन्धी दुई दिने अभिमुखीकरणर तालिम सम्पन्न भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी), युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (क्वालिटि) परियोजनाद्वारा आयोजित यो कार्यक्रम नेपाल सरकार र स्विजरल्याण्ड सरकारको संयुक्त प्रयास हो र परियोजना कार्यान्वयनमा स्विसकन्ट्याक्ट प्राविधिक सहायता प्रदान गरिरहेको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य प्राविधिक शिक्षालयहरूलाई संस्थागत प्रत्यायनका लागि अभिप्रेरित गर्नु रहेको छ । प्रत्यायन भनेको सामग्रीको गुणस्तर मापन गर्ने नेपाल स्ट्याण्डर्ड (एनएस) चिह्न जस्तै शिक्षालयको लगानी, प्रक्रिया र प्रतिफलको गुणस्तर सुनिश्चित गर्ने कडीका रूपमा लिइएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, सल्यान, दैलेख, रुकुम (पश्चिम)लगायतका जिल्लाहरूका १५ वटा प्राविधिक शिक्षालयका प्रधानाध्यापक तथा सम्भावित क्युएए (एनएस) फोकल व्यक्तिहरूको सहभागिता रहेको छ ।

यस कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले गर्नुभएको थियो । उद्घघाटन मन्तव्यका क्रममा मन्त्री भण्डारीले प्रदेशका धेरैजसो प्राविधिक शिक्षालयमा ५० प्रतिशतभन्दा कम विद्यार्थी भर्ना हुने गरेको अवस्था उद्धृत गर्दै शिक्षालयको अस्तित्व जोगाउन गुणस्तर अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले संस्थागत गुणस्तर सुनिश्चितता र प्रत्यायनले प्राविधिक शिक्षा र श्रम बजारको आवश्यकताबीच रहेको दूरीलाई कम गर्ने र युवाहरूमा प्राविधिक शिक्षाप्रति विश्वास जगाउने आशा व्यक्त गर्नुभयो । उहाँले दुई दिनको छलफलबाट प्राप्त सल्लाह सुझाव मन्त्रालयले आगामी नीति बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिटिइभिटी कर्णाली प्रदेशका परीक्षा शाखा प्रमुख ध्रुव प्रसाद रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सिटिइभिटीका उपनिर्देशक खेमराज पोख्रेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । साथै सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण कुमार खड्काले स्वस्मूल्याङ्कन मार्फत प्राविधिक शिक्षालयहरूको गुणस्तर सुधारका क्षेत्रहरु पहिचान गरी कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटन सत्रको समापन गर्दै सिटीइभिटी कर्णाली प्रदेश कार्यालयका का.मु. निर्देशक गोविन्द कुमार श्रेष्ठले प्राविधिक शिक्षा नीति २०६९ ले पहुँच र गुणस्तर दुवैलाई प्राथमिकता दिए पनि विगत १३ वर्षमा पहुँचको विस्तार भए तापनि अब गुणस्तर सुधारमा जोड दिनु पर्ने बताउनुभयो । उहाँका अनुसार क्युएए (एनएस) प्राप्त गरेपछि शिक्षालयहरूले आधिकारिक मान्यता पाउने, विद्यार्थीले गुणस्तरीय शिक्षा र पहिचानयुक्त प्रमाणपत्र पाउने, जसले गर्दा क्रेडिट ट्रान्सफरु सहज हुने र अभिभावक तथा रोजगारदातासमेत गुणस्तरको सवालमा ढुक्क हुने अवस्था सिर्जना हुनेछ ।

सिटिइभिटीका लेखा अधिकृत कृष्ण बहादुर खड्काले सञ्चालन गर्नुभएको उद्‌घादन सत्रपश्चात यस तालिमका प्राविधिक सत्रहरू खेम राज पोखरेल र सागर मणि न्यौपानेले सञ्चालन गरिरहनुभएको छ । प्रशिक्षणका क्रममा सहभागीहरूलाई गुणस्तर सुनिश्चितताका ७३ वटा सूचक, ३०० उपसूचक र १५०० वटा बेन्चमार्कहरूका बारेमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराइनेछ र यसबाट बाह्य मूल्याङ्कन अगाडि शिक्षालय आफैँलाई आफ्नो अवस्था बुझ्न र सुधार गर्न मार्गनिर्देश पनि गर्ने अपेक्षा गरिएको छ ।