एमाले पञ्चपुरीले बुझायो नगरप्रमुखलाई ११ बुँदे ध्यानाकर्षण पत्र

बाबियाचौर (सुर्खेत) – नेकपा एमाले पञ्चपुरी नगर कमिटिले पञ्चपुरी नगरप्रमुख लालविर भण्डारीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाको काम कारवाहीमा पारदर्शीतासँगै विकासमा जोड दिन अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको नगर कमिटि अध्यक्ष भिम बहादुर रावतले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पञ्चपुरी नगर पालिकाको अघिल्लो अबधि ५ वर्ष पछिल्लो अवधि ३ वर्ष गरी करिब ८ वर्ष कांग्रेसले सरकार चलाइरहदा पञ्चपुरीवासीले संघियताको मर्म अनुसार सरकारको अभिभावकत्व प्राप्त गर्नुको साटो भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, अपारदर्शीता जस्ता समस्या झेल्नु परिरहेको छ । समावेशिता, सहभागिता, समानता, समता जस्ता नागरिक न्यायपूर्ण कार्यका लागि नगर कमिटिले पटक पटक ध्यानाकर्षण पत्र बुझाउँदा समेत स्थानीय सरकारले आनाकानी गरी जनताको पक्षमा निष्पक्ष शासन गर्नुको साटो झन–झन अलोकतान्त्रिक शासनबाट जनतालाई सास्ती दिइरहेकोले अब ठोस र प्रभाबकारी कदम चाल्न दबाबका साथ यो ध्यानाकर्षण पत्र पेश गरिएको छ ।’

ध्यानाकर्षण पत्रमा उल्लेख बुँदाहरुमा तत्काल सुधारका लागि काम गरि परिणाममुखी नीति र कार्यक्रम लागुगर्न नसके आम पञ्चपुरीवासी नागरिकहरुको सहभागितामा थप शसक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने चेतावनी दिइएको छ । पत्र बुझ्दै नगरप्रमुख भण्डारीले प्राप्त सुझाव सल्लाह कार्यान्वयन गरिने बताए ।

ध्यानाकर्षण विषयबस्तु :

१) पालिका क्षेत्रभित्र विभिन्न निकायहरु बाट ठेक्का सम्झौता भइ निर्माणको चरणमा रहेका ठुला योजनाहरुको निर्माण कार्य तत्काल सुचारु गर्न आवश्यक कदम चाल्नुपर्ने ।

२) नार्सी–चाम्री, सालकोट–मानासैन, विध्यापुर–अवलछाप्रे, विद्यापुर–राग–तिखाकुना, चतुरे–दह–जन्गलाघाट, चतुरे–लाटीकाडा, भक्तड़ी–जगंलाघाट, पैसरा–धन्बोट, हासेगाउ–भक्तड़ी, तुलारामचोक–लगाम, मिलनचोक–मुरमुरी–तिखाकुना, लाटीकाडा–हातीसुड़े, बरैचे–चनाली, निमारे–भक्तड़ी, पलैटे–जंगला, आदि वडा नं १ देखि ११ सम्मका अधुरा, अपुरा र बर्षातका कारण अवरुद्द सडकहरु यथाशिघ्र स्तरोन्नति गरि दशैं अगावै संचालनमा ल्याई जनताको आवात जावतलाई सहज गराउनु पर्ने ।

३) प्राथमिक स्वास्थ्य केन्द्र सालकोट तथा स्वास्थ्य चौकी हरु लगायत स्वास्थ्य इकाईहरुलाई चाहिने औषधि खरिद गरि प्रयाप्त जनशक्तिको व्यबस्था गर्नु पर्ने ।

४) सालकोट, बाबियाचौर–विध्यापुर बजारमा सरसफाई नीतिलाई तत्काल व्यवस्थित रुपमा लागु गरि बजार क्षेत्रलाइ स्वच्छ र सफा राखु पर्ने लगायत बजारमा भैराखेको कालोबजारी, कृतिम अभाव सिर्जना गरि विक्री वितरण भैरहेका कमसल, गुणस्तरहिन, म्याद नाघेका अखाध्य वस्तुहरुको प्रभावकारी अनुगमन गरि यसलाई नियन्त्रण गर्ने ।

५) मालपोत र नापी कार्यालयको स्थापना गरि काम सुचारु गर्न सम्बन्धित निकायलाई घच्घच्याई तत्काल काम थालनीमा पहल गर्नुपर्ने ।

६) आ.व. २०८१।०८२ को आयव्ययको आम नागरिक समुदायको बिचमा सार्वजनिक सुनुवाई गरि नागरीक सुचनाको हक सुनिश्चित गर्न र आ.व २०८२÷०८३ को विनियोजित योजनाका लागि तत्काल प्राविधिक शाखाबाट स्टिमेट गरि निर्माण कार्य यथाशिघ्र संचालन गर्नुपर्ने ।

७) कृषकहरुलाई अनुदानमा वितरण गर्दै आएको मल, बिउ, कृषि औजार, कुवा हलोलाई व्यवस्थित प्रणाली बनाई वितरण गर्ने।

८) पञ्चपुरीमा रही आएका र सम्भावित पर्यटकिय स्थलहरुको पहिचान गरि प्रयटन विकास र प्रवद्र्धनका लागि ठोस योजना निर्माण गर्नुपर्ने ।

९) जसको जोत उसकै पोतको मूल मर्मलाइ आत्मसाथ गरि निर्माण गरिएको भुमि सम्बन्धि समस्या समाधान आयोगको कामलाई यस पालिकामा थप प्रभावकारी बनाउनका लागि पालिका र वडा स्तरीय सहजीकरण समितिहरुलाई क्रियाशील गराउनुपर्ने । र यस नगरपालिकाले अभिभावकीय भूमिका हरेक वडालाई अनुभूति हुनेगरी बाकि रहेका नाप नक्सा लगायतका कामहरु शुरु गर्नु पर्ने र यस आयोगको काममा नगरपालिकालाई चुनौती बनेको आफ्नै सदरमुकाम रहेको ५ नं वडा क्षेत्र जहाँका नागरिकको जग्गा जबर्जस्ति हडप्नका लागि विगतका आयोगहरु संग साठ गाठ गरि पहुचका आधारमा पुर्जा लिई गलत मनसायका व्यक्ति र तत्वहरुको गलत अफवाह र हल्लाहको पछि नलागी (साविक बाबियाचौर गाविस वडा नं २ बाबियाचौर बजार क्षेत्र) सालकोट ८ क नक्सामा रहेको क्षेत्र भित्र सदियौ देखि भोगचलन गर्दै बसोबास गरिरहेका व्यक्तिहरुको नाममा जग्गा नापी गरि तत्काल पुर्जा उपलब्ध गराई पिडित नागरिकलाई न्याय दिनका लागि र सो प्रवृतिका व्यक्तिहरुलाई समाज वाट निस्तेज पार्न नगरपालिकाले यथाशिघ्र कदम चाल्नुपर्ने ।

१०) साविक बावियाचौर ५ हाल पञ्चपुरी ६ मा विगतमा नापी गरेको तर अधुरो राखी धेरै कित्ता नाप नक्सा गरि पुर्जा वितरण गरेको र बाकि केहि रहेको जग्गाको नापी बन्द गरि अन्यत्र नापी कार्य गरिरहेकाले यस्तो किन गरियो? यसको जवाव सहित पुन उक्त कार्यलाइ पहिलो प्राथमिकताका साथ यथाशिघ्र सुचारु गर्नुपर्ने ।

११) स्थानीय तहले लिने गरेको ब्यबसायिक करको दोहोरो मारमा ब्यबसायी हरु परेका छन, पञ्चपुरी नगरपालिकाले ब्यबसायिक कर लिए वापत व्यबसायिक सहुलियत सुनिश्चितताको व्यवस्था गर्नुपर्ने ।