नेपाल र बंगलादेशमा मानव सुरक्षा कार्यक्रम लागु

सुर्खेत – मानव सुरक्षालाई ध्यानमा राखेर विश्वमा पहिलो पटक बंगलादेश र नेपालमा कार्यक्रम लागु भएको छ । बंगलादेश र नेपालको जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा यूएनडिपीले मानव सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम लागु गरेको हो ।

यो बिषयमा मानव सुरक्षाको मुलप्रवाहिकरण सम्बन्धि दुई दिने कार्यशाला सोमबार वीरेन्द्रनगरमा  सम्पन्न भएको छ । मानव सुरक्षा बहु–जोखिममा रहेको निश्कर्ष पश्चात पहिलो पटक बंगलादेश र नेपालमा यूएनडिपीले कार्यशाला सञ्चालन गरेको हो । नेपालको संघिय राजधानी काठमाण्डौ र कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा यो कार्यशाला सञ्चालन गरि नयाँ कार्ययोजना समेत तयार पारीएको छ ।

वीरेन्द्रनगरमा सम्पन्न उप–राष्ट्रिय÷स्थानीय स्तरको कार्यशालामा सहभागी सरकारी तथा गैरसरकारी निकायले अब बन्ने हरेक योजनामा मानव सुरक्षाका एजेन्डा लागुगर्ने प्रतिवद्धता जनाएका थिए । हरेक विकासका योजना तथा कार्यक्रम बनाउँदा नै मानव सुरक्षालाई ध्यान दिने उनीहरुको भनाइ छ । विकास निर्माणका गतिविधिसँगै मानवीय सुरक्षालाई पनि विशेष ख्याल राख्नुपर्नेमा साझा धारणा बनेको हो ।

मानव सुरक्षा अन्तर्राष्ट्रिय विज्ञ प्रोफेसर डा. शाहरबानौ ताजबख्शले विश्वका अधिकांश देशले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेपनि मानवीय सुरक्षामा ध्यान दिन नसकेको बताइन् । ‘कोरोना माहामारीको बेला मानवीय सुरक्षा र व्यवहार हरायो’ उनले भनिन्, ‘विपद् निम्त्याउने गरी विकास गर्नुहुँदैन । कुनै पनि काम गर्दा त्यसबाट निम्तिनसक्ने जोखिमबारे राम्रोसँग अध्ययन गरेर मात्रै कार्यक्रम कार्यान्वयन गर्नुपर्छ ।’

राष्ट्रिय विज्ञ डा. राजु थापाले कुनै पनि विकासका काम गर्दा सकारात्मक र नकारात्मक दुवै असर पर्ने उल्लेख गर्दै मानवीय सुरक्षा कायम हुनुभनेको व्यक्तिको आत्मसम्मानको पनि विषय रहेको बताए । योजना तथा कार्यक्रम निर्माण गर्दा मानव सुरक्षालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मानवीय सुरक्षा सुनिश्चित गर्न निकै चुनौती रहेको युएनडिपीका विजय सिंहले बताए । जलवायु परिवर्तनका असर तथा प्राकृतिक प्रकोप, सामाजिक विभेद तथा अपराध जस्ता गतिविधिले सुरक्षाको प्रत्याभूति हुन नसकेको उनको भनाइ छ । ‘कर्णाली प्रदेशको जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाँउपालिकामा मानवीय सुरक्षा र प्राकृतिक प्रकोपलाई ध्यानमा राखेर विकासका गतिविधि अघि बढाइएको छ’ उनले भने, ‘नेपाल र बंगलादेशमा लागु भएको यो कार्यक्रम विश्वकै नयाँ सोच अनुसार अघि बढाइएको छ ।’

युएनडिपीका बैंकक प्रमुख आरिफ खानले मानवीय सुरक्षा ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाएर मात्रै विकासका काम गर्नुपर्ने बताए । यो बिषयवस्तु पुरानै भएपनि नयाँ सोचका साथ कार्यक्रम लागु भएको उनको भनाइ छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुस्पराज शाहीले अब हरेक काम गर्दा मानवीय सुरक्षाको उपाय अपनाउने बताए । मन्त्रालयले नीतिगत पूर्वतयारी अपनाएर मानवीय सुरक्षामा काम गरिरहेको भन्दै यसलाई अझै गहन रूपमा अध्ययन गरेर कार्यक्रम लागु गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मान्छेकै सुविधाका लागि विकास गर्दा आउनसक्ने जोखिमले मानवीय क्षति के कति पु¥याउँछ ? र त्यसबाट कसरी बच्न सकिन्छ ? भनेर कार्यक्रम कार्यान्वयन गर्नु पहिले नै योजना बनाउनुपर्छ अनि मात्रै विकसमा मानव सुरक्षा सुनिश्चित हुन्छ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास पनि हुनुपर्ने उल्लेख गरे । सामाजिक विकासको पनि मानवीय सुरक्षाको विषय सुनिश्चित नभएसम्म अन्य विकास गौण रहने उनको भनाइ छ । उनले भने, ‘प्रदेशको दोस्रो आवधिक योजना तयार भएर कार्यान्वयन भइरहेको छ । त्यसमा सामाजिक न्याय र समृद्धि सहितको सुशासन कार्यान्वयनमा जोड दिइएको छ । सोहीअनुसार नीति, रणनीति बनाएर कार्यक्रम बनाएका छौँ ।’

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले नजानेर नबुझेर भन्दा पनि नटेरेर विकासका काम गर्दा मानवीय सुरक्षामा समस्या रहेको बताए । ‘बाढी आउने ठाउँमा घर बनाउने ? प्रकृतिलाई क्षति पुन्ने गरि सडक खन्ने ? चलन छ । वातावरणमैत्री विकास गर्न राज्यले नीतिगत व्यवस्था गर्नसकेको छैन्,’ उनले भने, ‘सुरक्षाका सवाल निकै साँघुरो भएकाले यो बहसलाई राष्ट्रिय सवालका रूपमा बहस उठाउनुपर्छ । यसको सुरुवात कर्णालीबाट भएको छ । बारेकोटमा यो कार्यक्रम लागु भएपछि पालिकावासीले निकै राहतको महशुस गरेका छन् ।’

युएनडिपी कर्णाली प्रदेश प्रमुख रफिक सिद्धिकीले विकास निर्माणमा मानवीय सुरक्षाको विषय बहसका रूपमा आएकाले यसलाई हरेक ठाउँमा कार्यान्वयन गर्नेगरी काम गर्ने र गर्न लगाउने बताए ।