कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले नै पाएनन् जोखिम भत्ता

जुम्ला—कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । यहाँको पातारासी गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।

 

पातारासी गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण बुढाका अनुसार संघ, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा जोखिम भत्ता दिन्छौं भनेर हौस्याएर काम खटाएको बताए । ‘तर, अहिलेसम्म जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो देखाएको छैन्,’ उनले भने, ‘महामारीमा स्वास्थ्यकर्मीको ज्यान जोखिम पार्न तयार बनायो ।’ \

 

यस गाउँपालिकाअन्र्तगत चार वटा स्वास्थ्य चौकीका ४२ जना स्वास्थ्यकर्मी र ६७ जना महिला स्वयंसेविका कोेरोना माहामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिएपछि जोखिम भत्ता उपलब्ध नभएको इन्चार्ज बुढाले बताए । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा खटिए बापत प्रति महिला स्वयंसेविका एकमुष्ट एक हजार ५ सय रुपैयाँ उपलब्ध गराउने गाउँपालिका निर्णय गरेको थियो । तर, अहिलेसम्म उपलब्ध नभएको उनको भनाइ छ ।

 

क्वारेन्टिन र हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएपनि फिभर क्लिनिक र अन्य स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नभएको उनले बताए । गाउँघर क्लिनिक भत्ता, फिल्ड भत्ता र हजाड भत्ताबाट स्वास्थ्यकर्मी बन्चित गरिएको गुनासो गरेका छन् । तलबबाट रकम काटियो, संचयकोषमा जम्मा भएन स्वास्थ्यकर्मीको तलबबाट रकम काटिएपनि संचयकोष, नागरिक लगानी कोष, जीवन बीमा नभएको गुनासो उनीहरुले गरेका छन् ।

 

‘स्वास्थ्यकर्मी तलबबाट रकम काटिएको देखिन्छ तर नागरिक लगानी कोष र संचयकोषमा रकम जम्मा भएको देखिएको छैन्,’ पटमारा स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण बुढाले भने । उनले थपे ‘आर्थिक वर्ष ०७४/०७५ को असोज र कार्तिक महिनाको स्वास्थ्यकर्मीको तलबबाट रकम काटिएको छ तर नागरिक लगानी र संचयकोषमा जम्मा भएको देखिदैन् ।

 

त्यस्तै आर्थिक वर्ष ०७५/०७६ को साउन, भदौं र असोज महिनाको पनि नागरिक लगानी र संचयकोषमा रकम जम्मा भएको छैन ।’ पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार स्वास्थ्यकर्मीका सेवा सुविधाका विषयमा केही पहिलादेखि नै समस्या छन् । ‘समस्या कार्यपालिकाबाट बैठकबाट समाधान गर्नेछौं,’ उनले भने । (healthaawaj)