कर्णालीमा विज्ञान प्रदर्शनी, मानसरोवर मा.वि प्रथम

सुर्खेत – कर्णाली प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा मानसरोवर मा.वि हुम्ला प्रथम भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमाझ प्रदेश स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा अवसरमा मानसरोवर मा.वि हुम्ला पहिलो हुन सफल भएको छ । प्रदर्शनीमा मानसरोवर मा.वि हुम्लाका शन्तोस शाही र आकाश शाही सहभागि थिए । यो विद्यालयले प्रथम पुरस्कार स्वरुप नगद ३५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै द्वितीय पुरस्कार कर्णाली मा.वि अनामनगर जुम्लाले जितेको छ । उक्त विद्यालयले नगद ३० हजार प्राप्त गरेको छ । तृतीय पुरस्कार सिद्दार्थ पाठशाला, वीरेन्द्रनगर सुर्खेतले प्राप्त गरेको छ । यस विदालयले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै सान्तोना पुरस्कार स्वरुप त्रिभुवन जनता मा.वि सल्यानले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । शिक्षा विकास निर्देशनालय, सुर्खेतको आयोजनामा भएको कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक जिल्लाबाट १÷१ विद्यालयका २ विद्यार्थी र १ शिक्षक संरक्षक सहभागी भएका थिए ।

कार्यक्रमले विज्ञान र प्रविधिप्रतिको विद्यार्थीहरूको रुचि, सृजनशीलता र नवप्रवर्तन क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको शिक्षा विकास निर्देशक दिपा हमालले बताइन् । उनका अनुसार कार्यक्रमको मूल्यांकन कार्यमा शिक्षाविद् विवशकुमार ओली, लोकेन्द्र सुवेदी र नरेन्द्र प्रसाद भट्टले निर्णायकको भूमिका निर्वाह गरेका थिए । साथै कार्यक्रममा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले नगद वितरण गरिएको छ ।

यस कार्यक्रमले प्रदेशका विभिन्न स्थानबाट आएका विद्यार्थीहरूबीच आपसी सञ्जाल, सिकाइ आदान–प्रदान र वैज्ञानिक सोचको विकासमा सकारात्मक प्रभाव पारेको आयोजक शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

पुरस्कार प्रदान गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनशयाम भण्डारीले विकसित नयाँ नयाँ प्रविधिसँगै विद्यायमा अध्ययनअध्यापन गराउन जरुरी रहेको बताए । सोही अनुसार राज्यले पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी रहेको उनको भनाइ छ ।