कुल ग्राहस्थ उत्पादनमा कर्णालीको योगदान ४.१९ प्रतिशत

सुर्खेत – राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१÷८२ को प्रादेशिक कुल ग्राहस्थ उत्पादन अनुमान सम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार कर्णाली प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि करिब २ खर्ब ५६ अर्ब हुने अनुमान छ । गत आर्थिक वर्ष २०८०÷८१ मा करिब २ खर्ब ४५ अर्ब रहने संशोधित अनुमान गरिएको थियो ।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ४.१९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा कर्णालीले ४.२९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा कर्णालीको स्थिर मुल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान छ । गत आर्थिक वर्ष २०८०÷८१ मा ३.२६ प्रतिशत रहने संशोधित अनुमान थियो ।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१.५० प्रतिशत) रहने उल्लेख छ । सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्र (०.१७ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ । गत गत आर्थिक वर्ष २०८०÷८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३०.१ प्रतिशत सहित अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१७ प्रतिशत) मा रहने संशोधित अनुमान थियो ।

कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्रमा (१०.४५ प्रतिशत) रहेको छ । भने सबैभन्दा थोरै खानी तथा उत्खनन् क्षेत्र (१.८५ प्रतिशत) को हुने अनुमान छ । त्यसैगरी गत आर्थिक वर्ष २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा (२१.७ प्रतिशत) को र सबैभन्दा थोरै (–१.१६ प्रतिशत) निर्माण क्षेत्रको रहने संशोधित अनुमान थियो । कर्णाली प्रदेशमा प्रतिव्यक्ति कुुल ग्राहस्थ उत्पादन १०८९ डलर अनुमान गरिएको छ ।