अब गुर्भाकोटको बहुप्राविधिक शिक्षालयमै नर्सिङ पढाई हुने

सुर्खेत – जिल्लाको गुर्भाकोट नगरपालिका–१३ स्थित बहुप्राविधिक शिक्षालयमा नर्सिङ पढाई सुरु गर्न अनुमति दिइएको छ । संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र ०८२÷०८३ देखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षातामा यही बैशाख २६ गते बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को २०७ औं बैठकले नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘गुर्भाकोट नगरपालिकाद्वारा जग्गा व्यवस्थापन गरी तत्कालका लागि स्थानीय तहबाटै भौतिक पूर्वाधार तथा आर्थिक स्रोत व्यवस्थापन गर्ने गरी परिषद्को आंगिक शिक्षालयका रुपमा गुर्भाकोट बहुप्राविधिक शिक्षालय, सुर्खेतको स्थापना गरी शैक्षिक सत्र ०८२÷०८३ देखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।’

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका आगामी शैक्षिकसत्रदेखि नर्सिङ कार्यक्रम सुरु हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । घर नजिकै नर्सिङ अध्ययन गर्न पाइने भएपनि नर्सिङ पढ्न बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुकासाथै आर्थिक खर्च पनि कम हुने स्थानीयले अपेक्षा गरेका छन् ।

गुर्भाकोट नगर प्रमुख हस्त पुन लगाएतको स्थानीय नेतृत्वको अथक प्रयास, सम्बन्धित निकायको समन्वय तथा सहयोगबाट गुर्भाकोट नगरपालिकामा नर्सिङ कार्यक्रम सुरु गर्न सफल भइएको हो । कर्णाली प्रदेशमै पहिलोपटक चिकित्सा शिक्षा आयोगको नयाँ कानुन बमोजिम सम्बन्धन प्राप्त गर्दै सीटीईभीटीले गुर्भाकोट बहुप्राविधिक शिक्षालय स्थापना गरेको थियो ।

पूर्व उपप्रधानमन्त्री पूर्ण बहादुर खड्का, पुर्व सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, बर्तमान सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगाएतको विशेष पहल तथा मार्गदर्शनमा यस ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको गुर्भाकोट नगरप्रमुख हस्त पुनले बताए ।

उनले भने, ‘यो कामका लागि मुख्यमन्त्री यामलाल कँडेल, शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को केन्द्रीय तथा प्रदेश कार्यालय, पुर्व मुख्यमन्त्री जीवन शाही, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि लगाएत सबैको ऐक्यबद्धता र सहकार्यले गाउामै नर्सिङ पढाउने सपना साकार भएको छ ।’

गुर्भाकोटको पहिचान अब मेडिकल शिक्षाको केन्द्रको रूपमा पनि अगाडी बढ्नेछ । यसैमार्फत समृद्ध गुर्भाकोटको यात्रा अझ द्रुत गतिमा अघि बढ्ने विश्वास गरिएको नगरप्रमुख पुन बताउँछन् । उनले थपे, ‘स्थानीय स्तरमा नै गुणस्तरीय नर्सिङ शिक्षा उपलब्ध भएसँगै कर्णाली प्रदेशका युवायुवतीले अब राजधानी धाउनु पर्नेछैन भने यसले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनसँगै रोजगारीको अवसर पनि बढाउनेछ ।’