सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेको छैन, अराजकतालाई नियमनमा ल्याउँछ : मन्त्री गुरुङ

वीरेन्द्रनगर – संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् ।

मंगलबार सुर्खेतबाट प्रकाशन हुने युगआह्वान दैनिकको २५ औँ रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन विधेयकको गलत अर्थ लगाएर परिभाषित गरिएको दावी गरे । नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको उनको भनाइ छ । यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरपरेको उनले बताए ।

सामाजिक नियमन विधेयकको ड्राफ्ट तयारीको क्रममा रहेको मन्त्री गुरुङको भनाइ छ । ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो’ उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’

साथै गुरुङले जातिय सद्भाव खलल पु¥याउने काम नेपाली मिडियाबाट भइरहेको आरोप लगाए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक जसरी पनि पास गरिने उनको भनाइ छ । अनलाइनका कारण साइबरक्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी यस सम्बन्धी उजुरी रहेको बताए । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको उनको भनाइ छ ।

कर्णाली सरकारका प्रवक्ता तथा कृषि मन्त्री विनोद कुमार शाहले आम सञ्चार माध्ययमले उठान गर्ने बिषयवस्तु नागरिकको हितमा हुनुपर्ने बताए । सरकारलाई रचनात्मक आलोचना सहित आफ्नो दायित्वबाट पत्रकारिता चुक्न नहुने उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले पत्रकारिता क्षेत्रबाट पछिल्लो समय आम नागरिकमा बढेको निराशा चिर्ने काम गर्नुपर्ने उल्लेख गरिन् । सरकारका कमि कमजोरीबारे खबरदारी गर्नुका साथै सकरात्मक कामलाई नागरिकमाझ फैलाउन आम सञ्चार माध्ययमले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।