सल्यान – सल्यानको कपुरकोटमा अवस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमले अदुवा र बेसारका नयाँ जात पहिचान गरेको छ । अदुवाको उत्कृष्ट ३ र बेसारको उत्कृष्ट ३ नयाँ जात पहिचान गरिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेको अदुवाबाली अनुसन्धान कार्यक्रमले आगामी वर्षमा पनि थप १–१ वटा नयाँ उन्नत जात उत्पादनका लागि सिफारिस गर्ने लक्ष्य रहेको छ । नेपालमा खेती गर्नका लागि अदुवा र बेसारका उत्कृष्ट ३–३ नयाँ जात पहिचान गरिएको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिए । उनका अनुसार नयाँ जात धेरै नै पहिचान भएका छन् । तर अर्काे वर्ष थप १ जात सिफारिस गर्ने तयारी छ ।
पहिचान भएका मध्ये उत्कृष्ट बोसे अदुवाको जेडआई १३०३ र बेसारको सीआई १२१३ जातलाई सिफारिसको तयारी गरिएको उनले बताए । अनुसन्धान कार्यक्रमले अदुवाको जेडआई १३०२, जेडआई १०२७ तथा बेसारको सीआई ०२०५ र सीआई ०२०७ लगाएतका उत्कृष्ट जात पनि पहिचान गरिसकेको छ । पहिचान भएका जातको नामाकरण भने हुन बाँकी छ । नामाकरण र सिफारिसको प्रक्रिया अलि लामो हुने कार्यक्रम संयोजक डाक्टर भण्डारीले बताए ।
उनले भने, ‘यहाँबाट परिषद्को प्राविधिक समितिमा गएर छलफल भै आवश्यक डाटाहरु छ की छैन भनेर सुझाव समेत आउँछ । विभागको अर्काे समितिमा पनि पर्याप्त छलफल हुन्छ । त्यहाँबाट पनि राम्रो भयो भन्ने आएमा मात्र विउविजन समन्वय समितिमा गएर मन्त्रीपरिषद्बाट निर्णय भएपछि मात्र सिफारिस गर्ने गरिन्छ ।’
उत्पादनका लागि सिफारिस भएको नयाँ अदुवाको जातमा रोग कम लाग्ने । उत्पादन बढी दिने र बासनादार तेलको मात्रा बढी हुने जस्ता विशेषता रहेको उनले जानकारी दिए । यसअघि नेपालमा कपुरकोट अदुवा–१ र कपुरकोट अदुवा–२ नामक २ वटा मात्र उन्नत जातहरुको सिफरिस गरिएको छ । वि.सं. २०५८ मा कपुरकोट अदुवा–१ र वि.सं. २०७३ मा कपुरकोट अदुवा–२ सिफारिस भएको थियो ।
अदुवा बाली अनुसन्धान कार्यक्रमले अदुवा र हलेकोको स्थानीय जातहरुको संरक्षण, सम्वद्र्धन र प्रवर्धनको काम पनि गर्दै आएको छ । नेपालका विभिन्न स्थानहरुमा खेती गरिने अन्य स्थानीय जातहरूको सङ्कलन गरि संरक्षण र विशेष गुण वर्णन कार्य पनि गरिदै आएको छ । अहिले अदुवाका ७२ वटा र बेसारका १०३ वटा स्थानीय तथा रैथाने जातहरुको संरक्षण गरिएको छ ।
अदुवा र हलेदोका अलावा अदुवाबाली अनुसन्धान कार्यक्रमले अन्य खाद्यान्न कोसे तथा तेलहन बालीहरु जस्तैः मकै, गहुँ, कोदो, जौं, मसुरो, भटमास, तोरी, फापर, बदाम आदि बालीहरुको अनुसन्धानात्मक काम पनि गर्दै आएको छ । नेपालको कुल २३ हजार ८२९ हेक्टर क्षेत्रफलमा अदुवा र ९ हजार २२ हेक्टर क्षेत्रफलमा बेसार खेती हुनेगरेको उल्लेख छ ।