मुगु – राराताल घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी स्थापाना गरिएको छ । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सुरक्षाका लागि नेपाल सरकारले ताल्चा विमानस्थल नजिक राराताल जाने बाटोमा अस्थाई पर्यटक प्रहरी पोष्ट स्थापना गरेको हो ।
सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले मुगुका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढिरहेको बताए । पर्यटकहरुको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी राख्न नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नगर कार्यपालिकाले निर्णयसहित माग गरेबमोजिम प्रहरी पोष्ट स्थापना भएको उनको भनाइ छ ।
कर्णाली प्रदेशभरमै मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी राखिएको हो । रारा विमानस्थल नजिक अहिले अस्थायी पोष्ट स्थापना भएपनि निकट भविष्यमै रारा नजिक सल्लेरिमा स्थायी पोष्ट स्थापना गरिने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन् । सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको उनको भनाइ छ । नेपाल सरकार वन मन्त्रालयबाट जग्गा प्राप्ती स्वीकृत हुनासाथ भौतिक संरचना बनाइ स्थायीरुपमै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिने उनले बताइन् ।
पर्यटक प्रहरीले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरीले गर्नुपर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारासहित मुगुमा रहेका अन्य पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको पनि घुमाइ अब सुरक्षित हुने विश्वास लिएको प्रहरी नायब उपरिक्षक सरोज गिरिले बताए ।
हाल देशभरी २९ वटा पर्यटक प्रहरी युनिटहरु रहेपनि कर्णाली प्रदेशभरी कतै पनि पर्यटक प्रहरी थिएन । अब मुगुमा पर्यटक प्रहरीको ३० औँ युनिट स्थापना भएसँगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ । अब छायाँनाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, बिजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नुपर्नेछ ।