राकम कर्णालीमा ५० शैयाको स्याटलाइट अस्पताल बन्ने

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औं बैठकले राकम कर्णालीमा स्याटलाइट अस्पताल बनाउन स्वीकृती दिएको छ । दैलेखको आठबीसकोट नगरपालिका स्थित राकम कर्णालीमा ५० शैयाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना बैठकबाट स्वीकृत भएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार बसेको बैठकले स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरिएको छ । राकममा हाल १५ शैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरिएको हो ।

सो अस्पतालको पूर्वाधार, जनशसक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग पनि प्रस्ताव गर्नेछ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्ररुपमा काम अघि बढाउन निर्देशन दिएका छन् । प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेको उल्लेख गर्दै अस्पतालको स्तरोन्नति गरेर जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने उनले विश्वास दिलाए ।

सभाको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट पारित हुनुका साथै गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइएको छ । यसैगरी बैठकबाट आगामी आर्थिक वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ । भने प्रतिष्ठानको रित्त सभा सदस्यहरुको मनोनयन गरिएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा मंगल रावल, रजिष्टार निर्पेन्द्र महत लगायत सहभागी थिए ।

आठबिस नगरपालिका–४ राकममा रहेको १५ शैया अस्पताल पालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रतिष्ठानले बनाएका थिए । आठबिस नगरपालिका नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका उपकुलपति मंगल रावलबीच १० फागुन २०७६ मा अस्पताल सञ्चालनको जिम्मा लगाउने निर्णय भएको थियो ।

त्योबेला नगरपालिका र प्रतिष्ठानबीच १०० शैयासहितको शिक्षण अस्पताल सञ्चालन गर्न कर्णाली प्रदेश र संघ सरकारसँग सहयोग माग्ने सम्झौता गरेका थिए । त्यस्तै गएको पुष १९ गते बसेको नगर सभाले आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले आधारभूत अस्पतालका रूपमा विकास गर्न लागेको अस्पताललाई प्रतिष्ठानको मातहतमा रहनेगरी संघीय सरकारले प्रक्रिया थालेको हो । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाका अनुसार विगतको सम्झौताअनुसार नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ । भने विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाउँदै आएको छ ।

अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसीजी ल्याबसहित फार्मेसी चलाइरहेको छ । अब प्रतिष्ठानको स्याटलाइट अस्पताल बनेमा कालिकोट, दैलेख, बाजुरा, बझाङ, अछाम, हुम्ला र मुगुका बिरामी लैजान सहज हुनेछ । यसबाट कर्णाली र सुदूरपश्चिमका झण्डै नौ लाख जनसंख्याले सेवा लिन सक्नेछन् । अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गरेर गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित तत्काल आधारभूत अस्पताल स्तरवृद्धि गरेर ५० शैयाको चलाउने योजना अघि बढेको छ ।