पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने मन्त्री भट्टराइको विश्वास

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन्। विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिल गरेका हुन् ।

शुभकामना सन्देशमा लेखिएको छ, ‘हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधी नियन्त्रणमा आउने छ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने छ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरु हासिल हुनेछन् भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ ।’

कोरोना संक्रमण रोकथामको उद्देश्यले नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले पर्यटन व्यवसाय तथा सेवामा उच्च क्षति पुगेको मन्त्री भट्टराईले उल्लेख गरेका छन् ।

उनले आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव, विज्ञहरुको सिफारिसको आधारमा नवप्रवर्द्धन र विकास सम्बन्धी योजना तथा कार्यक्रमलाई उच्च महत्वका साथ कार्यान्वयन गर्ने पनि बताएका छन् ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको सम्झनामा १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्षको पर्यटन दिवसको नारा ‘Tourism Building Peace Û Fostering Knowledge’ तय गरिएको छ ।(अनलाइनखबर)